सेवा प्रदायक निकायले आफू मातहतका कर्मचारीहरूलाई जिम्मेवार बनाउनु पर्ने एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा फागुन २० गते नेपालगञ्जमा आयोजित जिल्लास्तरीय परियोजना सल्लाहाकार समितिसँग अनुभव आदान प्रदान कार्यक्रममा बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले उक्त कुरामा जोड दिएका हुन ।

स्थानीय विकास अधिकारी प्याकुरेलले सेवाग्राहीलाई कसरी सहज तरिकाले सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा सेवाप्रदायक निकाय सम्वेदनशील हुनुपर्ने धारणा राखे । उनले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सरकारी निकाय मात्र नभई गैरसरकारी संस्थाहरूले पनि काम गरिरहेको बताउँदै कसले के काम गरेको छ ? तथ्याङ्कपरक रूपमा ल्याउन र उक्त कामको अनुगमन गर्न सुझाव दिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. वेदबहादुर केसी, जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख नजिर अहमद खाँ, महिला विकास अधिकृत सुनिता केसी, जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत चक्रबहादुर खड्काले स्थानीय तहमा रहेका समस्या समाधानका लागि आ-आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले स्थानीय स्तरमा महिला, बालबालिका, दलित र अन्य जोखिममा परेका, अल्पसङ्ख्यक, पछाडि पारिएका समुदायको सरकारी सेवा सुविधा माथिको पहुँचमा वृद्धि गराउन विशेषगरी शिक्षा, स्वास्थ्य र खाद्यको सवालमा इन्सेकले काम गरिरहेको बताए ।
बाँकेको चिसापानी, गनापुर र खासकुश्मालगायतका गाविसमा निगरानी समूहले पहिचान गरेका समस्याको बारेमा जिल्लास्तरीय निगरानी समूहका संयोजक बसन्त गौतमले सेवाप्रदायक निकायका अधिकारीलाई जानकारी गराएका थिए ।
विनोद पाण्डे