INSEC Online

📅 २०८३ जेष्ठ २१

सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक कपिलबस्तु र मानव अधिकार निगरानी समूहको आयोजनामा पुस २८ गते कपिलवस्तु नगरपालिकामा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ ।

Photo20180112Kapilvastu (1)

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझन र सुधारका लागि पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सेवाग्राहीहरूले शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने, विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी हुनुपर्ने, प्राथमिक शिक्षा निशुल्क हुनु पर्ने तर विभिन्न बहानामा शुल्क उठाउने गरेको, स्वास्थ्य संस्थामा नियमित औषधि वितरण गरिनुपर्ने, निशुल्क भनिएका औषधिको अभाव रहेको, गुणस्तरीय सेवा नपाएको, स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मी कर्मचारीहरू ४ बजेसम्म नबस्ने तथा स्वाथ्य चौकीहरूमा ल्याव सेवा सञ्चालन हुनुपर्ने, जिल्ला अस्पतालमा प्रभावकारी सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका थिए ।

Photo20180112Kapilvastu (2)

यस्तै कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्ने, निशुल्क तथा अनुदानमा आएका मल बिउ वितरण पारदर्शी नभएको लगायतका सवालहरू उठान गरेका थिए ।

कार्यक्रममा स्थानीय तहको नयाँ संरचना अनुसार शाखा स्थापना भएपनि नगरपालिकाले बजेटमा समावेश नगर्दा बुद्धभूमि नपाका कृषि र पशु, महिला तथा बालबालिका शाखा बजेटविहीन भएको, कपिलवस्तु नपा पनि सेवा प्रभावकारी हुन नसकेको, अन्य विभिन्न सरकारी तथा स्थानीय तहमा सेवा प्रवाह राम्रो नहुँदा सेवा पाउन समस्या रहेको सहभागीहरूले गुनासो गरेका थिए ।

कार्यक्रममा उठेका सवालको जबाफ दिँदै क्षेत्र नं २ को प्रदेश १ का सांसद दिर्गनारायण पाण्डेले प्रदेशको सरकार निमार्णपछि सबै समस्या हल हुँदै जाने बताए ।

सांसद पाण्डेले नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण समस्या भइरहेको बताए । सेवाग्राहीहरूले उठान गरेका सवालले जिल्लामा के कस्ता समस्या रहेछन् भन्ने कुराको जानकारी भएको भन्दै प्रदेश सरकारमा छलफल गर्ने प्रतिबद्धता समेत जनाए ।

निमित्त प्रमुख जिल्ला अधिकारी मदन भुजेलवर अर्यालले इन्सेकले सञ्चालन गर्ने कार्यक्रमले आर्थिक सामाजिक, सांस्कृतिक अधिकार अर्न्तर्गतका शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको समस्यालाई उठान गर्ने र समस्या समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउने कार्यबाट कर्मचारीहरूमा परिवर्तन ल्याउन सफल बनेको बताए । सेबाग्राहीबाट आएका समस्या सान्दर्भिक रहेको भन्दै कार्यन्वयन गर्न सेवाप्रदायक कार्यलयहरूलाई निर्देशन दिए ।

कार्यक्रममा सेवाग्राहीले उठाएका सवालको जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुली, जिल्ला स्वास्थ्य प्रतिनिधि विष्णु जैसवाल, कृषि कार्यालय प्रतिनिधि, उमेशचन्द्र श्रेष्ठ, महिला तथा बालबालिका कार्यालय प्रतिनिधि थुमा उपाध्यायलगायतले जवाफ दिएका थिए ।

नन्दराम पौडेल

अन्य

भिडियो