अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चाचित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत चैत २७ गते लिसंखुपाखर गाउँपालिका–७ मा सेवाप्रदायक र सेवाग्राहीबीच स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा लिसंखुपाखर गाउँपालिका वडा नं. ७ का अध्यक्ष बयानबाहादुर तामाङले खाद्य अधिकारको सवालमा बजार मुल्य र तौलमा विविधता देखिएकाले त्यसलाई स्थानीय निकायबाट बजार अनुगमन गरी नियन्त्रण गर्ने बताए ।
अध्यक्ष तामाङले स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्य कर्मीको व्यवस्था भइसकेकोले अव त्यस बर्थिङ सेन्टर व्यवस्थित हुने र स्वास्थ्य चौकीमा औषधिको व्यवस्थापन गरिने बताए । उनले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा आपूm सधैँ दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य चौकी ठूलोपाखरका इञ्चार्ज लक्ष्मीकान्त बजगाईँले नागरिकहरूको स्वास्थ्य संवैधानिक अधिकार भएकाले ती हकको संरक्षणमा कर्तव्य पूरा गर्ने बताए ।
स्वास्थ्य चौकीहरूलाई गाउँपालिकाबाट औषधि वितरण गर्दा जनसङ्ख्या र बिरामीहरूको चापलाई मध्यनजर राखेर वितरण नगर्दा यस स्वास्थ्य चौकीमा कहिलेकँहि औषधिको अभाव भएको स्वास्थ्य चौकी इञ्चार्ज बजगाईँले बताए ।
रोगको प्रकोप तथा माहामारीको समयमा औषधिको अभाव नहोस् भन्ने उद्धेश्यले स्वास्थ्य चौकीमा आएको १० प्रतिशत औषधि आपतकालिन अवस्थाको लागि स्टोरमा जगेडा राखिने गरेको समेत उनले बताए ।


नातिबावु धिताल