INSEC Online

📅 २०८३ जेष्ठ २१

सुरक्षित आवासको लागि पहल गरिदिन इन्सेकसमक्ष अनुरोध

क्षिरेश्वरनाथ नगरपालिकाका दलित तथा विपन्न समुदायका व्यक्तिहरुले नदिको किनार तथा ऐलानी जग्गामा फुसको घर रहेको र सो घर पनि टुट्न लागेकोले सुरक्षित अवासको लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले जेठ २७ गते क्षिरेश्वरनाथ नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो अनुरोध गरेका हुन् ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ७ की फुलकुमारी महराले झुपडी घरको माटो झरेको र माटो लिन खेतमा जाँदा कसैले माटो समेत नदिएको दुःखेसो पोखिन् ।

स्थानीय मन्जु महराले हावाहुरीले ऐलानी जग्गामा रहेको फुसको घर टुटेपछि प्लाष्टिक टाँगेर बसिरहेकोले सुरक्षित आवासको लागि पहल गरिदिनु हुन अनुरोध गरिन् ।

स्थानीय मन्जुदेवी महराले भन्नु भयो–“पति विरामी छ, ऐलानी जग्गामा एउटा टुटेफुटेको घर छ, कसरी घर बनाउने ?”

स्थानीय गीता महार र सुकमरीया देवी महराले एउटा मात्र परालले छाएको झुपडिको घर रहेको र सो घर पनि पानी परेको बेला चुहिने गरेको बताउनु भयो ।

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले जनताको सुरक्षित आवासको लागि नगरपालिकाबाट हुन सक्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो ।

जलाद र औरही नदिले वस्ती कटान गरिरहेकोले ती टोलका दलित बस्तीको सुरक्षित आवासको लागि करोडौ रकम लाग्ने भएकोले सोमा लाग्ने खर्च प्रदेश र संघ सरकारसँग माग गरेर समस्या समाधानका लागि आफू लाग्ने उहाँले बताउनु भयो ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नथुनी कवाडीले वडामा सबै भन्दा बढी दलितको जनसङ्ख्या भएको र अधिकाँश दलितको असुरक्षित बसोवास रहेकोले ती वस्तीहरुलाई व्यवस्थित गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

ऐलानी जग्गा हुने खानेले कब्जा गरेको वडा अध्यक्ष कवाडीले उल्लेख गर्नु हुँदै घर र जग्गा नहुनेलाई घर तथा जग्गा उपलब्ध गराउन पहल गर्ने बताउनु भयो ।

photo20220611dhanusha (1)

photo20220611dhanusha (2)

अन्य

भिडियो