INSEC Online

📅 २०८३ जेष्ठ २१

सुनसरीमा ६ महिनाको अवधिमा १ सय ६ जना पीडित

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सुनसरी सदरमुकाम इनरूवामा असार १४ गते सम्पन्न गरिएको छ ।

Photo20180628Sunsari

कार्यक्रममा इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सुनसरीमा सङ्कलन गरिएका घटनाहरूको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उनले सन् २०१८ को जनवरी १ देखि जुनसम्मको ६ महिनाको अवधिमा अभिलेख गरिएका बलात्कारका ३४, बलात्कार प्रयासका १३, बाल विवाहका दुई, बहुविवाहका १३, मानव बेचबिखनका १०, अपहरणका पाँच, कथित बोक्सी आरोपको एक, कुटपिटको एक, बम विष्फोटका दुई ओटालगायतका घटना प्रस्तुत गरेका हुन् ।

६ महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ९७ ओटा घटना अभिलेख गरिएको र ति घटनामा १ सय ६ जना पीडित भएका प्रतिवेदनमा उल्लेख छ ।

Photo20180628Sunsari1

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरी राज्यलाई झक्झक्याउने इन्सेकको अभियान प्रभावकारी भएको र यो अभियानलाई राज्यका निकायले साथ दिनुपर्ने विचार राखे ।

नेपाल पत्रकार महासङ्घका पूर्व सहसचिव राजन निरौलाले राज्यले मानव अधिकार संरक्षणका लागि ठोस कदम चाल्न नसकेकोमा गुनासो गरे ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका मानव अधिकार अधिकृत चिरञ्जीवी कोइरालाले राष्ट्रिय मानव अधिकार आयोगको भूमिका र यसले सम्पादन गर्ने न्यायका विषयमा जनचेतना बढाउन आवश्यक रहेको बताए ।

मानव अधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईले कुनैपनि घटनाको गहिराइमा पुगेर मात्र अभिलेख राख्न इन्सेक र इन्सेककर्मीलाई सुझाव दिए ।

इन्सेक विराटनगर कार्यालयका संयोजक सोमराज थापाले मानव अधिकार उल्लङ्घनका घटना तथा अभिलेखहरू नेपाल मानव अधिकार वर्षपुस्तकमा पुष्टी, अनुपरीक्षणपछि मात्र प्रकाशन हुने जानकारी दिए ।

जयकृष्ण यादव

अन्य

भिडियो