INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था तथा मानव अधिकार संरक्षणमा सरोकारवालाहरुको भूमिका विषय अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सन् २०२५ मा सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था तथा मानव अधिकार संरक्षणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम ०८३ जेठ ५ गते जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले सन् २०२५ को मानव अधिकारको अवस्था र नेपला मानव अधिकार वर्ष पुस्तक २०२६ मा समेटिएका मानव अधिकारका मुख्य सवालहरुका सन्दर्भमा प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अथिति तथा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सरकारले गर्नु पर्ने मानव अधिकारका कार्यहरु इन्सेकले लामो समयदेखि गर्दै आएको उल्लेख गर्दै मानव अधिकार संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनु भयो । मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि सरकारी तथा गैरसरकारी निकायबिच समन्वय आवश्यक रहेको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी महेन्द्र नेपालले नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन नेपाल प्रहरी कटिबद्ध रहेको बताउदै इन्सेकले मानव अधिकार प्रवर्धनका लागि बिगत लामो समयदेखि महत्वपूर्ण कार्यहरु गर्दैआएको बताउनु भयो । द्वन्द्वकालिन समयमा समेत इन्सेकले नागरिक तथा राजनीतिक अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको समते उहाँले बताउनु भयो ।

इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले अझै पनि द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति, दलित, महिला लगायतका समुदायको मानव अधिकार पूर्ण रूपमा सुनिश्चित हुन नसकेकाले यी सवालहरुलाई सम्बोधन गर्न सबै पक्षबिच सहकार्य र हातेमालो आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला कारागारका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रम सम्पन्न भएलगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरे. नेपाल र जिल्ला प्रहरी कार्यालयका एसपीलाई  प्रदेश संयोजक जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ हस्तान्तरण समेत गर्नुभएको थियो । 

सुबास नेपाली

अन्य

भिडियो