मधुवन नगरपालिकाका प्रमुख मेयर गणेशबहादुर क्षेत्रले शिक्षा, स्वास्थ्य, कृषि र पशु क्षेत्रको विकास नागरिकले चाहे जस्तो गरी विकास गर्न भएको साधन स्रोतको अधिक्तम उपयोग गर्दै सम्बन्धित पक्षलाई नैतिक रूपमा जिम्मेवार बनाउँदै अगाडि बढ्ने बताए ।
उनले इन्सेक नेपालगंजको आयोजनामा मधुवन नगरपालिकाको सहकार्य र रेडियो रमाज्ञानुको समन्वयमा जेठ ४ गते भएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच सार्वजनिक सुनुवाइ रेडियो बहस कार्यक्रममा सो कुरा बताएका हुन् ।
तर, त्यस अवस्थामा पनि जिम्मेवार ठाउँमा रहेको व्यक्तिले नैतिक रूपमा जिम्मेवार भएर सृजनशील भएर अगाडि बढ्न सके राम्रो कामको शुरूवात हुने र विस्तारै सबै किसिमका साधन स्रोत बढाउँदै लगेर निश्चित समयमा चाहे जस्तो उपलब्धि पाउन सक्नेमा दुईमत नरहेको उनको भनाई थियो ।
नगरपालिका क्षेत्रमा समय सापेक्ष जीवन उपयोगी शिक्षा प्रदान गर्न र आवश्यक सीप मुलक जनशक्ति उत्पादन गर्न एक वडामा एक प्रविधिक बिद्यालय सञ्चालन गर्ने योजना सहित काम पनि सुरू गरिसकेको बताए ।
यसका लागि सबै तर्फबाट सहयोग आवश्यक रहेको र नैतिक रूपमा सबै पक्ष जिम्मेवार हुनुको विकल्प पनि नरहेको भन्दै सहयोग गर्न आग्रह गरे ।
कृषि कर्म गर्न चाहाना भएपनि सिंचाईको मुख्य समस्या भएकोले गर्न चाहेर पनि नसकेको मनै मर्ने गरेको किसानहरूको गुनासोलाई कसरी सम्वोधन गर्न पर्ने । कृषि, पशुपंक्षी जन्य उत्पादनलाई बजारीकरणमा किसानहरूलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै आगामी वर्ष कृषि र पशु क्षेत्रको समय सापेक्ष विकास गर्न सूचना सङ्कलन गर्ने उद्देश्यले सर्वेक्षण शुरू गरिएको मधुवन नपा कृषि शाखाका प्रमुख एकराज वलीले बताए ।

मानबहादुर चौधरी