पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र इएलपी परियोजनाद्वारा गठित पन्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा भदौ १९ गते पालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरिएको हो ।
बैठकबाट शिक्षामा मुख्य समस्याको रूपमा धेरै जसो परिवारका सदस्य कमाउनलाई विदेश गएका र उनीहरूका बालबालिकाले पढाइलाई निरन्तरता दिन नसकेको, अनिवार्य शिक्षा भनिएता पनि कार्यान्वयन नभएको , अपाङ्गमैत्री विद्यालय नभएको बालबालिका दुव्र्यसनीमा परेको समस्या पहिचान गरिएको थियो ।
त्यस्तै स्वास्थ्य संस्थामा नेपाल सरकारबाट निशुल्क उपलब्ध गराइने ९८ ओटा औषधि स्वास्थ्य चौकीमा उपलब्ध नभएको, स्वास्थ्यमा अनुगमनको कमी, स्वास्थ्य बीमा बारे अझै पनि नागरिकमा जानकारी नभएको, बजेटको अभाव र खरिद प्रक्रियामा समस्या जस्ता विषयहरु बैठकबाट पहिचान भएको इन्सेकका फोर्कल पर्सन दुर्गा थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वातावरण संरक्षणमा प्लास्टिकजन्य वस्तुहरूको व्यवस्थापनमा कमी, वन विभाग, विद्युत बिच समन्वय नहुँदा वन विनाश भएको, अर्गानिक विस्थापित प्रोटिन युक्त खाना नभएको, सिँचाई कुलाको पानीमा जथाभावी फोहोर फाल्दा खेतमा गएर खेत रुखो भएको जस्ता समस्याको पहिचान भएको छ ।
त्यसैगरी विभेदका सवालमा मुख्य समस्याको रुपमा छाउपडी प्रथाका कारण बालबालिका माथि नै हिंसा हुने, अझै पनि विवाह व्रतबन्ध जस्ता सामाजिक कार्यमा विभेद हुने गरेको, महिला हिंसा, घरेलु हिंसा र बालविवाह जस्ता पालिका स्तरमा रहेका विभिन्न शीर्षकमा समस्या पहिचान गरिएको छ । बैठकबाट पहिचान भएका समस्याहरुलाई मानव अधिकार समूहले जुन निकायसँग सम्बन्धित समस्या हो, त्यो निकायलाई जवाफदेखि बनाउनका लागि ध्यानाकर्षण गर्नेछ ।
बैठकमा मानव अधिकार समूहका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि र सम्बन्धित निकायका शाखा प्रतिनिधित्वहरुको सहभागिताबाट समस्या पहिचान गरिएको थियो । इन्सेक सुर्खेत जिल्ला सहजकर्ता ललिता विकले बैठक सञ्चालनको सहजीकरण गर्नुभएको थियो ।

