विद्यालयको शैक्षिक गुणस्तर सुधार, बालबालिकाहरूलाई समानता व्यवहार र न्यूनतम सुविधाका विषयमा शिक्षक, विद्यार्थी र अविभावकबिच अन्तरक्रिया सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजनाद्वारा असोज ११ गते बसन्त माध्यामिक विद्यालय किमुगाउँमा आयोजित शिक्षा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नारायण नगरपालिका–७ का सदस्य निर्मला खड्काले विद्यालय व्यवस्थापन समिति र सामाजिक कार्य गर्न आउनेहरू राजनीतिक पक्षबाट माथि उठेर सेवाको भावना र इच्छा शक्तिका साथ काम गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशबहादुर खड्काले आफू भर्खर जिम्मेवारीमा आएको भन्दै सबैको सहयोग र सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले समयमा दिइने सुझावले थप गल्ती हुन नदिन र सफलतातिर उन्मुख गराउने बताउँदै प्रशंसा भन्दा रचनात्मक सुझावको खाँचो रहेको उल्लेख गर्नुभयो ।
इएलपी कार्यक्रम अन्तर्गत बसन्त मावि किमुगाउँमा गठित बाल अधिकार चेतना समूहका अध्यक्ष निशा रावलले खेलकूद सामग्री उपलब्धता र कम्प्यूटरको अधिकतम उपयोगमा बालबालिकालाई अवसरहरू सिर्जना गर्नुपर्ने सुझाव राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा अभिभावकहरू भविसरा कोइराला, धनकुमारी रावल, सीता खनाल र मनु रावलले बालबालिकाहरूमा कुनै किसिमको विभेद वा भेदभाव हुन नहुने, विद्यालयमा शिक्षकहरूले सूर्तीजन्य पदार्थ सेवन गर्न नहुने सुझाव राख्नुभएको थियो ।
