INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा शतर्क रहन इन्सेकलाई सुझाव

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २ गते धनकुटामा सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले इन्सेकले मानव अधिकार रक्षाका लागि नेपाल सरकारलाई सहयोग गर्दै आएको र आगामी दिनमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई इन्सेकले अभिलेख गरी नेपाल सरकारलाई सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

संविधानले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई मौलिक हकका रूपमा ब्याख्या गरेकाले त्यस किसिमका अधिकार हननका घटनालाई वर्ष पुस्तकमा समेट्न सहायक प्रजिअ खतिवडाले इन्सेकलाई सुझाव दिए ।

धनकुटाका पूर्व सांसद गोपाल गुरागाईँले पछिल्लो समय मानव अधिकार रक्षाका लागि सरोकारवालाहरू सचेत भएको र त्यो सचेततालाई अझ बृद्धि गर्न आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका पूर्व सभापति खगेन्द्र घिमिरेले नेपालको मानव अधिकार रक्षाका लागि इन्सेक अभियान महत्वपूर्ण भएको र वर्ष पुस्तक नेपालको मानव अधिकारको अवस्था देखाउने ऐना भएको बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल धनकुटाकी अध्यक्ष हीमा चेम्जोङ्गले महिलाहरूको अधिकार स्थापित गर्नमा इन्सेक अभियानले विशेष सहयोग गरेको बताइन् ।

नेकपाका नेता ऋषिराम ढुङ्गानाले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रकाशन गर्नु पूर्व सरोकारवालाहरूसँग छलफल तथा सुझाव माग्ने गरेका कारण इन्सेकको तथ्याङ्क विश्वसनीय भएको बताए ।

नेपाली कांग्रेस धनकुटाका पार्टी सचिव विजय सन्तोषी राईले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई अभिलेखीकरण गर्न इन्सेकले जोड दिनुपर्ने बताए ।

पूर्व समीक्षा कार्यक्रममा साढे १० महिनाको अवधिमा धनकुटामा भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखहरूलाई जिल्ला प्रतिनिधिले सार्वजनिक गरेका छन् ।

सो अवधिमा जिल्लामा भएका ३६ ओटा घटनामा ३९ जना पीडित भएका छन् । जसमा राज्य पक्षबाट भएको कुटपिटका तीन ओटा घटनामा ६ जना घाइते भएका छन् ।

बलात्कारका ६ ओटा घटनाबाट सात जना पीडित भएको इन्सेकको तथ्याङ्क छ । घरेलु हिंसाका २२ ओटा घटनामा २२ जना पीडित हुन पुगेका छन् । हत्याका तीन ओटा, बहुविवाहको एउटा, आगजनी तथा तोडफोडका दुई ओटा घटना भएको अभिलेख इन्सेकले गरेको छ ।

नीलबहादुर थापा

अन्य

भिडियो