अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ र मानव अधिकार निगरानी समूह तनहुँको आयोजनामा व्यास नपाले लागु गरेको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे अन्तरक्रिया कार्यक्रम असार १९ गते व्यास नपाको सभाहलमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै व्यास नपाका मेयर बैकुण्ठ न्यौपानले विकासलाई अधिकारसँग जोड्ने र सबै योजनाहरू मानव अधिकारमैत्री बनाउने पहल भइरहेको बताए ।
मेयर न्यौपानेले शिक्षा, स्वास्थ्य र खाद्य नागरिकको मौलिक हकसमेत रहेको हुँदा ति विषयलाई प्राथमिकतामा राखेर योजना छनौट गरिएको बताए ।

नगरपालिकाले आगामी वर्षको लागि कृषि र पशुतर्फमात्र १ करोड रुपियाँ भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिँदै शिक्षा र स्वास्थ्यमा पनि पर्याप्त मात्रामा बजेट र कार्यक्रमहरू विनियोजन गरिएको जानकारी दिए ।
अहिलेसम्म सङ्घीय र प्रदेश कानुनहरू नबन्दा नगरपालिकाले पनि आफ्नो कानुन बनाउन नसकिरहेको भन्दै मेयर न्यौपानेले प्रदेश कानुन निर्माणपछि बनाउने कानुन, ऐन, नियम तथा नियमावलीहरू मानव अधिकारमैत्री बनाउने प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार नागरिकको मौलिक हक रहेको हुँदा ति विषयहरूमा स्थानीय तहले गम्भीर भएर कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताए ।
व्यास नपाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले नगरपालिकाले लागु गरेको शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी नीति र कार्यान्वयनको अवस्था बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रकाशचन्द्र भट्टराई