अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, कार्यालयको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा जिल्लास्थित सरोकारवालासँग समन्वय बैठक जेठ २३ गते धनगढीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सवालमा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताए ।
उनले जेठ २२ गते सेवाग्राहीसँग गरिएको अन्तरक्रियामा आएका गुनासाहरूलाई पनि समन्वय बैठकमा प्रस्तुत गरेका थिए ।
सरकारले कार्ययोजना बनाउँदा सम्पादन गर्न सक्ने क्षमताको आधारमा नीति तथा कार्यक्रम बनाउनु पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका निमित्त प्रमुख टङ्कप्रसाद चापागाईंले जोड थिए ।
उनले नागरिकलाई सरकारी निकायले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराउन सबै निकायले नागरिकसँग समन्वय गर्न आवश्यक रहेको बताउँदै सरकारी निकायमा राखेका वडापत्रको आधारमा सेवा सुविधा लिन तथा उपभोग गर्न नागरिक स्वयम्ले पनि सिक्न आवश्यक रहेको बताए ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सन्ध्या राजेश्वरी सिंहले सरकारी निकायले गरिब असाहयलाई प्रदान गर्ने सेवा सुविधा पाउनु पर्ने व्यक्तिले नपाएर सम्पन्न तथा अगाडि बढेकाले मात्रै पाउने गरेको बताइन् ।
यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरूले राम्रोसँग छानबिन गरेर सिफारिस गर्न आग्रह गरिन् । सरकारले स्पष्ट नीति नियम नबनाएकाले आफूहरूलाई कार्यसम्पादनमा समस्या भएको सिंहले गुनासो गरिन् ।
रविना चौधरी