लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले नगरपालिकामा रहेका जनताको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सुनिश्चितताका लागि इन्सेकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले मङ्सिर १९ गते लेकवेशी नगरपालिकामा आयोजना गरेको “मानव अधिकारको अवस्था तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया” कार्यक्रममा नगर प्रमुख सुनारले सो प्रतिबद्धता जनाउनु भएको हो ।
नगर प्रमुख सुनारले जनतासंग जोडिएको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सुनिश्चित गर्न आवश्यक योजना तथा कार्यविधि निमार्ण गरी इन्सेकसँग समन्वय गर्न समेत लेकवेशी नगरपालिका तयार रहेको बताउनुभयो ।
लेकवेशी नपाका उपप्रमुख शान्ति छन्त्यालले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारबाट बञ्चितीकरणमा परेका जनताका ती अधिकारहरू सुनिश्चित गर्न र अधिकारका बारेमा आवाज उठाउन इन्सेकले कार्यक्रम सञ्चालन गरेकोमा आभार व्यक्त गर्नुभयो ।
उपप्रमुख छन्त्यालले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सुनिश्चित गर्न इन्सेकसँग समन्वय गरी आवश्यक योजना तथा कार्यविधि निर्माण गर्ने बताउनुुभयो ।
कार्यक्रममा सहभागीहरूले लेकवेशी नपामा देखिएका शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको समस्या चुनौती तथा सरोकारवाला निकायले सम्बोधन गर्न नसकेको अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका कार्यक्रम संयोजक दिलबहादुर चौधरीले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्न इन्सेक तयार रहेको बताउनुभयो ।






