अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय सरकार र अन्य निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम पुस १५ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा सरोकारवालाहरूले शैक्षिक र स्वास्थ्य गुणस्तरमा जोड दिएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले नागरिकलाई मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्न स्थानीय सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले गाउँपालिमा स्रोत र साधनले भ्याएसम्म नागरिकमैत्री काम गरेको र त्यसमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारलाई सम्बोधन गरिएको बताउनु भयो ।
इन्सेकले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएली परियोजना विगत तीन वर्षदेखि भोक्राहा नरसिंहमा गर्दै आएकाले कार्यक्रमले विकासमा समेत रचनात्मक सुझाव दिएको बताउनु भयो ।
उहाँले इन्सेकद्धारा गठित मानव अधिकार समूहले उठाएका सवालमध्ये दुई ओटा विद्यालयलाई माध्यमिक तहमा स्तरनोन्नती गरेको, साविक दुई स्वास्थ्य चौकी रहेकोमा अहिले आठ ओटै वडामा तीन वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्नुका साथै एम्बुलेन्स नपुग्ने गाउँगाउँमा कालोपत्रे गर्ने काम भएको बताउनुभयो ।
यादवले कृषिमा प्राविधिको व्यवस्था गरी कृषकहरूको क्षमता विकास र मौसमी तथा बेमौसमी खेतीमा सहयोग र पशुपालक किसानका लागि नरसिंह तथा भोक्राहा दुवै खण्डमा पशु प्राविधिकको सेवा प्रवाह गरिएको बताउनु भयो । इन्सेक प्रदेश १ कार्यालय कार्यक्रम अधिकृत बागमती कट्टेलले शिक्षा, स्वास्थ्य र खाद्यमा सबैको पहुँच र गुणस्तर कायम हुनुपर्नेमा जोड दिनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखाका प्रमुख रमेशचन्द्र तिम्सिनाले सरकारको लगानी शिक्षामा भए अनुसारको प्रतिफल नआउनुमा सरोकारालाहरू समेत जिम्मेवार रहेकाले आआफ्नो ठाउँबाट योगादन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मानव अधिकार समूहका सचिव बेलाल अञ्सारीले शैक्षिक गुणस्तरका लागि विद्यालय नियमित सञ्चालन हुनुपर्ने, विधार्थी र शिक्षक नियमित हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था, अभिभावक शिक्षा आवश्यक रहेको बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र यादवले गाउँबासीको अधिकारको प्रत्याभूति गराउन अधिकतम प्रयास गरिरहेको बताउनुभयो ।
स्वास्थ्यकर्मीहरूले आठ ओटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिरहेको र सरकारले ल्याएको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन अधिकारकर्मी तथा सर्वसाधारणको सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।
श्री आधारभूत विद्यालयका प्रधानाध्यापक मनोजकुमार मेहताले विद्यालयहरू नियमित पठनपाठन भएपनि विषयगत शिक्षकको अभावमा काम गर्नुपरेको बताउनु भयो ।
कृषि तथा सहकारी शाखाका सीताराम मेहताले समयमै विउविजन र मलको उपलव्धताका लागि समुदायमै वीउ उत्पादन तथा जैविक मल बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नागरिक अधिकारका सवाल प्रस्तुत गर्दै मानव अधिकार समूह भोक्राहा नरसिंहका अध्यक्ष ममता उराँवले कोभिड विरूद्धको खोपको व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य संस्था औषधि सहज उपलब्धता हुनुपर्ने, कडा खालका रोगको औषधि सहज उपलब्धता हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय सरकारका जनप्रतिनिधि तथा सम्बन्धित निकायका सरोकारवाला वडाध्यक्ष, वडा सदस्य, मानव अधिकार समूहका पदाधिकारी, बाल अधिकार चेतना समूहका पदाधिकारी, स्वयम्सेविका, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित सरकारी प्रतिनिधि,नागरिक समाज र सञ्चार माध्यमलगायतको सहभागितामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया गरिएको इन्सेक सजहकर्ता जयकृष्ण यादवले बताउनु भएको छ ।