INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य र आवास बन्दिपुरको प्राथमिकतामा

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा बन्दिपुर गाउँपालिकको संयोजनमा माघ १९ गते बन्दिपुरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संविधानले मौलिकहकको रूपमा व्यवस्था गरेको यी विषयहरूलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको बताउनुभयो ।

photo20210203Tanhun (2)

बन्दिपुरले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पुर्वाधार समग्र बन्दिपुर गाउँपालिका निर्माणको मुल आधारभन्ने नारा तय गरी २० वर्षे गुरूयोजना समेत तयार गरेको भन्दै अध्यक्ष थापाले २० वर्षे गुरूयोजनामा पनि शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा पारेको बताउनुभयो ।

शिक्षाको मुख्य जग नै प्राथामिक र आधारभुत तहको शिक्षा भएको हुँदा सबै प्राथमिक विद्यालय तहमा मन्टेश्वरी विधिको शिक्षा तथा धुलो रहित कक्षा कोठा सुरू गरिनुका साथै आधारभुत तहमा पुर्ण दरबन्दी तथा सूचना प्रविधिको पढाई सुरू गरिएको बताउनुभयो ।

यसका साथै माध्यमिक तहमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न आवासिय र बसको व्यवस्थापन सुरू गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

सबै विद्यालयमा स्वच्छ खानेपानी, दिवा खाजा, सफा शौचालय तथा विद्यालयसम्म पुग्ने सडकको स्तरोन्नती पनि सुरू गरिएको उहाँले जानकारी दिनुभयो ।

photo20210203Tanhun (3)

त्यस्तै सबै वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्य केन्द्रहरूमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, गण्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको सरकारी अस्पताल, पर्याप्त मात्रामा निःशुल्क औषधीहरू वितरण तथा कोभिड सङ्क्रमतिको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आइसोलेशन सहितको अस्पताल बन्दिपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको अध्यक्ष थापाले बताउनुभयो ।

नागरिकहरू अझै पनि धेरै सचेत नभइसकेको भन्दै सरकारी स्वास्थ्य संस्थामा सेवा लिन आउनु पर्नेमा जोड दिदै उहाँले जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको बताउनुभयो ।

कृषि क्षेत्रको बारेमा बोल्दै थापाले यस क्षेत्रमा निकै धेरै बजेट विनियोजन गरिएको भन्दै गण्डकी प्रदेशमै पहिलो चक्लाबन्दीको कार्यक्रम बन्दिपुरबाट सुरू गरिएको बताउनुभयो ।

कृषि उत्पादकत्व बढाई खाद्य सरक्षा सुनिश्चित गर्न तथा जोखिममा परेका कृषकलाई सेवा, अनुदान र अन्य सुविधाहरू उपलब्ध गराइएको बताउनुभयो ।

खाद्यान्न मात्र नभई पोषणमा समेत योगदान दिने फलफुलको रोपणलाई प्राथमिकतामा राखिएको उहाँको भनाई थियो ।

त्यस्तै जनता आवास कार्यक्रम, खरको छानो विस्थापित कार्यक्रम, भुमिहिनलाई पनि आवास निर्माणको लागि पुनःनिर्माण प्राधिकरणमा सिफारिस जस्ता काम गरिएको अध्यक्ष थापाले जानकारी दिनु भयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष करूणा गुरूङले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार जनताको सबैभन्दा महत्वपूर्ण अधिकार भएको हुँदा नीति तथा योजना बनाउँदा त्यसलाई नै प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।

उहाँले ती अधिकारहरूको कार्यान्वयन गर्दा महिलालाई विशेष प्राथमिकतामा राखिएकोे बताउनुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र योजनाहरूलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने र नीतिहरू बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।

photo20210203Tanhun (1)

मानवअधिकार समुह बन्दिपुरकी सदस्य शान्ती कुवँरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष हस्तबहादुर जिसी, वडा नम्बर ६ का अध्यक्ष सन्तबहादुर गुरुङ, कार्यपालिका सदस्य रनबहादुर चेपाङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

 

अन्य

भिडियो