अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ०७६ माघ २० गते बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माविमा आयोजित शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माले आजको शिक्षा सामाजिक न्याय र मानव अधिकारमा आधारित हुनुपर्ने बताउनुभयो ।
अबको समयमा शिक्षाबाट कोही पनि वञ्चित हुन नपर्ने गरी सबैले निःशुल्क र गुणस्तरीय शिक्षा पाउने नीतिहरुको तर्जुमा गर्नुपर्ने प्रमुख शर्माले बताउनुभयो । जिल्लाको शिक्षा सम्बन्धी निकायको प्रमुख भएको नाताले आफुले त्यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।
शर्माले नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यवस्था, शिक्षा नीति, प्रावधान, नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्याहरु, समाधानका लागी सरोकारवाला निकायहरुको भुमिका, लगायतका विषयमा प्रस्तुती राख्नुभएको थियो ।
उहाँले सरकारले केही वर्षभित्रै सम्पुर्ण विद्यालयलाई पर्याप्त हुने गरी दरबन्दी थप्ने तयारी गरेकाले सामुदायिक विद्यालयमा नीजि स्रोतबाट दरबन्दी राख्नुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।
मानव अधिकार संरक्षण र सम्वर्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया गरिएको थियो ।
शिक्षाको अधिकारसम्बन्धी संवैधानिक व्यवस्था, विद्यमान शिक्षा नीति र प्रावधान र सोको कार्यान्वयनको अवस्थाबारे शिक्षासँग सम्बन्धित सरोकारवालाहरूलाई सजग गराई गुणस्तरीय शिक्षाको लागि योजना निर्माण गर्न र शिक्षासँग सम्बन्धित निकायलाई जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज लामिछानेले सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न सबैले आफुलाई रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
सबैले आ–आफनो अधिकारको कुरा गर्दा कर्तव्य पनि बोध गर्न सके छिट्टै सामुदायिक विद्यालयको रुपरेखा फेरिने उहाँको भनाई थियो शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमबहादुर शाहीले विद्यालयमा आवश्यक दरबन्दी नहुदाँ नीजी स्रोतमा शिक्षक व्यवस्था गर्नुपरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रघुनाथ पण्डितले कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा शिक्षाको अधिकारका बारेमा राज्यले के कस्तो व्यवस्था गरेको छ भन्ने स्पष्ट जानकारी गराएको बताउनुभयो ।
