मधुवन नगरपालिकाका प्रमुख मेयर गणेशबहादुर क्षेत्रीले वर्तमान अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
इन्सेकले सञ्चालन गरेको इएलपी अन्तर्गत सेवाग्राही र सेवाप्रदायीकबीच नगरपालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा सो कुरा व्यक्त गरेका हुन् ।
सो अवसरमा बोल्दै शिक्षा क्षेत्र सुधार विना अन्य क्षेत्रको विकास सोचे जस्तो उपलब्धि पाउन कठिन हुने भएकोले नगरपालिकाभरका विद्यालयमा योजना सहित काम सुरू भएको पनि मेयर केसीले बताए ।
यस वर्ष मात्रै शिक्षा क्षेत्रको सुधार र विकासका लागि २१ करोड बजेट खर्च गरिएको उनको भनाई रहेको छ । साथै पछि पारिएका समुदायमा रहेको विद्यालयमा आगामी वर्ष विशेष योजना ल्याएर काम गर्ने पनि मेयर क्षेत्रीले बताए ।
मधुवन नपामा एक वडा एक प्राविधिक विद्यालय स्थापना गरी पठनपाठन गर्न सुरू गरेकाले केही वर्षमा स्वास्थ्य, कृषि, पशुजन्य व्यवसायका लागि जनशक्ति उत्पादन हुने विश्वास पनि व्यक्त गरे । साथै प्राविधिक शिक्षाबाटै अन्य क्षेत्रको सीपयुक्त जनशक्ति उत्पादन हुने बताए ।
कार्यक्रममा इन्सेक प्रदेश ५ कार्यालयकी कार्यक्रम संयोजक सरस्वती मल्लले मधुवन नगरपालिका वडा नं. एक, दुई, तीन र चारमा इएलपी कार्यक्रम सुरू हुँदाको अवस्थादेखि तीन वर्ष यता पहिचान भएका शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने समस्याहरू सम्बोधन भइसकेको र बाँकी रहेको सवाल पनि सम्बोधन गर्न नगरपालिकाले दिएको चासो र पहल सकारात्मक रहेकोमा खुसी ब्यक्त गरिन् ।

मानबहादुर चौधरी