अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले सञ्चालन गरीरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरक्रिया शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २२ गते कोशी गाँउपालिकामा सम्पन्न भएको छ ।
इन्सेकद्वारा गठित मानव अधिकार समूह कोशीको आयोजना तथा कोशी गाउँपालिकाको समन्वयमा शिक्षाको अधिकारका विषयमा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले आफू शिक्षाप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले शिक्षा विकासको मेरूदण्ड भएकाले शिक्षाको विकासको लागि आफू पूर्ण प्रतिवद्ध रहेको बताउनु भयो ।
गाउँपालिकामा विद्यार्थीको अनुपातमा १ सय ८७ जना शिक्षक अभाव रहेकोमा त्यसको परिपूर्ति गर्न आफूले गाउँपालिकाकै श्रोतबाट तलब खुवाउने गरी ३५ जना निजी स्रोतका शिक्षक राखेर विद्यालय सञ्चालन गरीरहेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय शोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउतले शैक्षिक क्षेत्रमा जनप्रतिनिधि आएपछि सकारात्मक सुधार भएको बताउनुभयो ।
उहाँले विद्यालयमा स्वास्थ्य सुरक्षासहित नियमित कक्षा सञ्चालन गरेको बताउनुभयो ।
बुलबुल अधारभुत विद्यालयका प्रधानाध्यापक देवनारायण यादवले विद्यालयमा शैक्षिक सुधारका लागि खाजा कार्याक्रम प्रभावकारी रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा शाखाका प्रमुख सोमराज ढकालले विद्यालयहरू खुलेकाले अहिले तत्काल मास्क, सरसफाई सामाग्री वितरण गरिएको बताउनुभयो । पालिकाभित्र १६ विद्यालयमा शून्य दरबन्दीमा रहेको र कुल १ सय ८७ जना दरबन्दीको शिक्षक आवश्यक रहेको बताउनुभयो ।
