इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा असार २२ गते शिक्षाको अधिकारका सम्बन्धमा राज्यका नीति र जिल्लामा सञ्चालित कार्यक्रमबारे जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच गरिएको छ ।

सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी सुर्यप्रसाद क्षेत्रीले संविधानले शिक्षालाई मौलिक हकको रूपमा समावेश गरेको हुँदा जनताको मौलिक हकको कार्यान्वयनका लागि शिक्षा कार्यालय प्रतिबद्ध रहेको बताए ।

सो कार्यक्रममा क्षेत्रीले जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन गरिएका कार्यक्रमहरूको जानकारी गराएका थिए । उनले शिक्षकको दरबन्दी लामो समयदेखि प्राप्त नभएको हुँदा अहिले भएको दरबन्दीले नै काम चलाउनु परेको गुनासो गरे । विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद मैदान, जङ्कफुड निषेधलगायतका कामहरू क्रमशः सञ्चालन भइरहेको र अब शिक्षा कार्यालयले गर्ने सबै कामहरू स्थानीय तहले गर्ने हुँदा स्थानीय तहसँग पनि समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ ।

त्यसैगरी इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तनहुँ जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजनाको जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार २२ गते दमौलीमा सम्पन्न भएको छ ।
बैठकको अध्यक्षता गर्दै समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी अञ्जनराज न्यौपानेले इन्सेकले सञ्चालन गरेको कार्यक्रमले जनताको चेतनाको विकास भएको भन्दै आगामी दिनमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहसँग सहकार्य गर्नु पर्ने बताए । यस्ता चेतनामुलक कार्यक्रमहरू ग्रामीण क्षेत्रमा लैजानु पर्नेमा स्थानीय विकास अधिकारी न्यौपानेले जोड दिए ।
प्रकाशचन्द्र भट्टराई