धार्चे गाउँपालिका–२ केरौँजाबाट विस्थापित भएर गोरखा नपा–६ सिमलगैरीमा आएर बसेका भूकम्प पीडितले बस्तीमा खानेपानी, विद्युतसँगै सडक मर्मतको आवश्यकता रहेको बताएका छन् ।
मानव अधिकार सञ्जाल तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार ११ गते विस्थापित बस्तीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले थातथलो छाडेर विस्थापित हुनुपर्दा आफूहरू समस्या नै समस्याको चाङभित्र रहेको गुनासो गरे ।
दुर्गममा रहेको केरौँजा बस्तीमा भूकम्पपछि बस्ती भित्र धाँजा फाटेर जोखिम बढेपछि २१ घरधुरी थातथलो छाडेर सिमलगैरीमा आएर बसिरहेका छन् ।
‘पुरानो गाउँको बस्ती क्षतविक्षत् छ, घर बनाउने सुर्को पनि छैन ।’–स्थानीय काजिराम गुरूङले भने–‘सुरक्षित जग्गा खोज्दै यहाँ आएर बस्यौँ । यहाँ घर अट्ने जग्गा छ, सुरक्षित ठाउँमा आनन्दसँग सुत्न त पाएका छौँ तर अरू सबै समस्या नै समस्या मात्र छ ।’
बस्तीमा खानेपानीको निकै समस्या रहेको कान्छी गुरूङ बताउँछिन् । ‘एक गाग्री पानी लिन एक घण्टा लाग्छ । धारो सानो छ । भिडभाड त्यस्तै हुन्छ । लुगा धुन नुहाउन त खोलाको पानी प्रयोग गर्ने गरेका छौँ ।’–कान्छीले भनिन् ।
‘मजदुरी गर्न जाउँ कहाँ जाने पनि थाहा छैन । कोही मान्छे चिनेको छैन । घर अट्ने जग्गा छ । गरिखाने बारी छैन ।’–गुरूङले भनिन्–‘दिनभर फुर्सदिलो बस्नुपरेको छ । नुन, तेल, चामल सबै बेसाएर खानुपरेको छ ।’
बस्तीसम्म पुग्ने सिमलगैरी खोलामा पर्खाल हाले आउजाउमा सहज हुने स्थानीय सुन्दर गुरूङले बताए । ‘ग्याबिनल जाली भरे आउजाउ गर्न सहज हुन्थ्यो । अब बर्खा लाग्यो बालबच्चा पनि सजिलै स्कुल जान सक्थे ।’–उनले भने–‘कोही बिरामी भइहाले अहिले त एम्बुलेन्स आउन सक्ने बाटो पनि छैन । ग्राबेल हालेर सडक स्तरोन्नती भए अझै सजिलो हुन्थ्यो ।’
विस्थापित बस्तीका २० जना बालबालिका डुम्रीडाँडाको विद्यालयमा अध्ययनका लागि जाने गरेका छन् । बस्तीमा बिजुलीको पोल गाडेपनि तार नटाँग्दा समस्या भएको उनले बताए ।
‘दसैँतिर पोल गाडेको हो । तार टाँगेको छैन । प्राविधिक क्याम्पससँग मागेर बिजुली बाल्दै आएका छौँ ।’–गुरूङले भने–‘बस्तीका तल्लो घरसम्म पुर्याउन अझै तीन चार ओटा पोल चाहिन्छ ।’
भूकम्प पीडित बस्तीमा ढल निकासको पनि समस्या रहेको स्थानीय दिनेश गुरूङले बताए । ‘अब बर्खा लाग्यो, माथिका घरहरू पनि समस्या त छ, ढल व्यवस्थीत नपनाउने हो भने बर्खामा बस्ती पस्छ,’– दिनेशले भने ।
स्थानीयले आफ्ना समस्या सुनाएपछि वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष आनन्द गुरूङले विद्युतको तार विस्तारका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
‘विस्थापित बस्तीमा धेरै समस्या रहेछ ।’–उनले भने–‘वडाले सिफारिस बनाएर विद्युत प्राधिकरणमा निवेदन दिनुपरेपनि दिन्छौँ । वडा कार्यालयले विद्युत विस्तारका लागि दुई–चार दिन भित्रै पहल थालिहाल्छ ।’
पानीको स्रोतको खोजी गरेर बस्तीसम्म पुर्याउने उनले बताए । ‘सबैभन्दा ठुलो भनेको पानीको समस्या रहेछ । यसमा वडा कार्यालयले गम्भिरतापुर्वक लिन्छ ।’–उनले भने ।
ढल निकासको समस्या समाधानका लागि प्राविधिक ल्याएर स्थलगत अध्ययन गरिने कार्यवाहक वडाअध्यक्ष आनन्द गुरूङको भनाई थियो ।
धार्चे गाउँपालिकाको बस्ती भूकम्पपछि जोखिममा परेकाले सोही समयदेखि २१ घर धुरी सिमलगैरीमा आएर बसिरहेका छन् । यस्ता जोखिम बस्ती पीडितलाई बढीमा २ लाख रुपियाँसम्म जग्गा खरिदका लागि दिने पुननिर्माण प्राधिकरणको प्रावधान छ ।
जग्गा खरिद गरेर घर बनाएको एक वर्ष बितिसक्दा पनि जग्गा खरिदको रकम नपाएको कजिराम गुरूङले गुनासो गरे ।
पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयले भने असार मसान्त भित्रै भूकम्प पीडितलाई जग्गा खरिदका लागि रकम उपलब्ध गराउने गरी प्रक्रिया सुरू भइसकेको जनाएको छ । कार्यालयका अनुसार सो रकम जग्गा धनीको नाममा निकासा हुने प्रावधान छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकांश भूकम्प पीडितले थातथलो छाड्दा नुनतेल खानसम्म समस्या परेको गुनासो गरेका थिए । गाउँको जग्गा बाँझिएको र नयाँ ठाउँमा आएर बस्दा हात मुख जोर्नै समस्या परेको उनीहरूको भनाई थियो ।




हरिराम उप्रेती