अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्धारा सन्दकपुर गाँउपालिकामा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (ईएलपी) परियोजना अन्तरगत पुस २८ गते गाँउपालिकामा शिक्षक,अभिभावक र विद्यार्थीबीच आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सामुदायिक विद्यालयमा विषयगत शिक्षक नहुँदा समस्या भएको गुनासो गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै माइमझुवास्थित श्याम्बल माध्यमिक विद्यालयका प्रधानाध्यापक रेखराज पोख्रेलले विद्यालयमा विषयगत शिक्षकको अभावका कारण पनि विद्यार्थी अन्यत्रै जाने गरेको बताउनु भयो ।
जिल्लाका धेरै विद्यालयमा विज्ञान र गणितका शिक्षक नहुनुले सामुदायिक विद्यालयले विद्यार्थीको पनि अभाव झेल्नु परेको सन्दकपर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख टीका निरौलाले बताउनु भयो ।
कार्यक्रममा सरस्वती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि लुङ्गेलीले सामुदायिक विद्यालयमा अब कानून विषयको पढाइ सञ्चालन गर्न र व्यवसायिक शिक्षा सञ्चालन गर्न आवश्यक देखिएको बताउनु भयो ।
गाउँपालिकास्थित मानव अधिकार समितिका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता र गाउँपालिका अध्यक्ष उदय राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुुख अतिथि राईले गाउँपालिकामा शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताउनु भयो । उहाँले कार्यक्रममा उठेका सही सवालहरूलाई गाउँपालिकाले अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गुर्नभयो ।
इन्सेकले गाँउपालिकामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासका अधिकारका विषयमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
