इन्सेकलगायतका सङ्घसंस्थाहरूको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरू सङ्कलन गर्न ०८१ कात्तिक २८ गते प्रदेश स्तरीय समीक्षा गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ ।

इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत सम्झा श्रेष्ठले संयुक्त राष्ट्रसङ्घले पारित गरेका नौ ठूला महासन्धी मध्ये सात महासन्धीलाई नेपाल सरकारले अनुमोदन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता अनुसार मानव अधिकारको अवस्थाका बारेमा सुझाव सङ्कलन गरी प्रतिवेदनको तयारीका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यूपिआरको उद्देश्य र विगतमा महासभाले नेपाल सरकारलाई दिएका सुझाव, त्यसको कार्यान्वयनको अवस्थाको विषयमा प्रस्तुत समेत गर्नुभएको थियो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजनक भोला महतले यूपिआरका लागि इन्सेकले प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको बताउनु भयो । उहाँले कार्यक्रममा प्राप्त सुझाव कार्यन्वयन गर्न प्रत्येक नागरिक एवम् संस्थाहरूको भूमिका पनि महत्त्वपूर्ण हुने हुनाले कार्यक्रममा निरन्तर सहभागी हुन सबैलाई आग्रह गर्नुभएको थियो ।
ओरेक नेपालका व्यवस्थापक सुलोचना खनालले यो उपस्थितिले सुझाव सङ्कलनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले कार्याक्रमबाट प्राप्त सुझावहरूले प्रतिवेदन अर्थपूर्ण प्रतिवेदन तयार गरी मानव अधिकारको विश्वब्यापी सम्मेलनमा पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिका अधिकारीले प्रदेश स्तरीय परामर्श तथा सुझाव सङ्कलन गोष्ठीबाट प्राप्त सुझावहरूले सरोकारवाला पक्षको ध्यानाकर्षण गर्न र विश्वव्यापी आवधिक समीक्षामा आएको समस्या तथा प्राप्त सुझावले प्रतिवेदन तयारी गर्न सहज बनाउने बताउनु भयो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरू, मानव अधिकारकर्मी, नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

