INSEC Online

📅 २०८३ जेष्ठ २१

विभेद असमानता हटाउने वडाध्यक्ष थापाको प्रतिबद्धता

भैरबी गाउँपालिका–२ नम्बर  वडाका वडाध्यक्ष मीनबहादुर थापाले सेवाग्राहीहरुसँग गरिने व्यवहार मानव अधिकार मैत्री बनाउने र समाजमा रहेको विभेद असमानता हटाउने प्रतिबद्धता जनाउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले साउन २९ गते भैरबी गाउँपालिका–२ रावतकोटमा आयोजना गरेको कानुनी सचेतना कार्यक्रममा उहाँले मानव अधिकारको प्रत्याभूती दिलाउने निकाय भएकोले सधैं तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले महिला माथि हुने लैंगिक हिंसा, घरेलु हिंसा, छाउपडी प्रथा, कथित बोक्सीको आरोप, दलित समुदाय माथि भइरहेको जातीय विभेद मुख्य सामाजिक समस्या रहेको चर्चा गर्नुभयो ।

उहाँले यी सामाजिक कुरीति तथा कुचलन आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार प्रत्याभूतीमा बाधक बनेको बताउदै स्थानीय सरकारको पहलमा समाधान गर्न जिम्मेवार बनाउन इन्सेकले ग्रामीण क्षेत्रमा कार्यक्रम गर्दै आएको बताउनुभयो ।

नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष ललितबहादुर थापाले महिला तथा दलित समुदाय माथि भइरहेको विभेद, असमानता र अत्याचार रोकथामका लागि सरकारले कानून ल्याएको बताउदै पीडितहरुको न्यायको निम्ति राज्य निकायहरु तत्पर रहेको बताउनुभयो ।

सचेतना कार्यक्रमका मुख्य सहजकर्ता अध्यक्ष थापाले अतिविपन्न अपराध पीडितहरुलाई निशुल्क कानूनी सहायता दिलाउन सरकारी वकील कार्यालयमा कानूनी सहायता परियोजना, सोसेक नेपालमा महिला तथा बालबालिका सेवा केन्द्र, अतिविपन्न प्रतिवादी समेतलाई प्रतिरक्षाका निम्ति अदालतमा वैतनिक वकीलको व्यवस्था भएको जानकारी दिनुभयो ।

इन्सेकको अधिकार–२ परियोजना कार्यक्रम अधिकृत परिस्कृत पौडेल, प्रलेख अधिकृत पुरनप्रसाद चौधरीले मानव अधिकार शिक्षा प्रवद्र्धन र मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरुको अभिलेखीकरणका विषयमा इन्सेकले गरिरहेका काम बारे प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी इन्सेककै आयोजनामा पञ्चदेवल मावि रावतकोटमा किशोरी आत्मरक्षा अभिमुखीकरण गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि सुनिता सुनार र युवा अभियन्ता कृष्णा थापाले किशोरीहरुले यौन दुव्र्यवहारका भाषाशैली तथा हाउभाउ चिन्ने तरिका, सुरक्षा रणनीति र प्रतिकार अभ्यास समेत अभिमुखीकरण गराउनुभएको थियो ।

विद्यालयमा किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रमले बालिकाहरुलाई सुरक्षा उपाय पहिलो पटक सिकाइदिएकोमा पञ्चदेवल मावि रावतकोटका प्रधानाध्यापक पदम आचार्यले इन्सेकलाई धन्यवाद दिनुभयो । यस्तो शिक्षा बेलाबेला भइराख्नुपर्ने उहाँले आवश्यकता दर्शाउनुभयो ।

Photo20230814Dailekh (2)

Photo20230814Dailekh (4)

Photo20230814Dailekh (3)

Photo20230814Dailekh (5)

Photo20230814Dailekh (1)

अन्य

भिडियो