सनराइज स्कूलका निमित्त प्रिन्सिपल रबिना क्षेत्रीले विद्यालय उमेरका किशोरीहरु सजग हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को ‘अधिकार–२’ परियोजनाले मङ्सिर २५ गते स्कूलमा सञ्चालन गरेको किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रममा उहाँले प्रत्यक्ष र अप्रत्यक्ष यौनजन्य हिंसा घटनाको बढी जोखिममा पर्ने गरेको सुनाउनुभयो ।
निमित्त प्रिन्सिपल क्षेत्रीले किशोरीहरुलाई प्रलोभन पार्ने वा छक्याउन सजिलो पर्ने भएकोले दुराचारीले किशोरी समूहले रोज्ने भएकोले सचेत हुनपर्ने बताउनु भयो । उहाँले आत्मरक्षा अभिमुखीकरण गरिदिएकोमा इन्सेकलाई धन्यवाद दिनु भयो ।
किशोरी आत्मरक्षा अभियन्ता सुनिता सोनी, प्रतिमा थापा र कृष्णा थापाले सनराइज स्कूलका किशोरीलाई यौनजन्य घटनामा प्रयोग हुने शव्द, बोलीचाली, हाउभाउका संकेत र बलात्कार प्रयास भएमा जोगिने उपाय बारे अभिमुखीकरण गराउनुभएको थियो ।
शारीरिक प्रतिरोध गर्ने र कस्तो अवस्थामा आक्रमणकारीको सम्वेदनशील अङ्गमा कसरी प्रहार गरी आफू भाग्ने वा उम्कने र घटना परिवेश अनुसार पीडितले प्रतिरोध गर्ने सीप र कौशलता बारे प्रयोगात्मक अभ्यास देखाइएको थियो ।
आफू भन्दा जस्तो बलियो आक्रमणकारी भए पनि प्रतिरोधका अभ्यास, कला, कौशलता, छरितापन र सजगता लगायत समुदाय वा वरपरका व्यक्ति तथा निकायहरुको सहयोग र न्यायिक प्रक्रिया बारे सीप तथा ज्ञानका कुरा किशोरी आत्मरक्षा अभिमुखीकरणमा सिकाइएको थियो ।


