अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जैमिनी नगरपालिकामा आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आर्चायले विद्यालयमा नैतिक र समावेशी शिक्षाको आवश्यकतामा औंल्याउनुभयो । उहाँले विद्यार्थी, विद्यालयका व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरु सबैको साझा प्रयत्नबाट मात्र गुणस्तरिय शिक्षा सम्भव रहेको बताउनुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यार्थी, शिक्षक र अभिभावक सबैमा यथोचित सम्मान र समन्वयको असल संस्कार आवश्यक रहनुका साथै विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन शिक्षक र अभिभावक पहिले आफु सु–संस्कारि रुपमा प्रस्तुत हुनुपर्ने धारणा सहभागीहरुको थियो ।
संस्थागत विद्यालयमा पर्याप्त तालिम र लगानी बिना पनि उत्कृष्ट नतिजा आउने तर सामुदायिक विद्यालयमा उल्लेख्य लगानी र शिक्षकहरुलाई दर्जनौ तालिम दिँदा पनि शैक्षिक गुणस्तरमा समस्या देखिनु बिडम्बनापूर्ण रहेको उहाँहरुको गुनासो थियो ।
बाल अधिकार समूहकी अध्यक्ष मेलिना चापागाईले अनुशासन र संस्कार सिक्ने ठाउँ विद्यालय भन्दा पहिले घर भएकाले शिक्षकका साथै अभिभावकले पनि आफ्ना सन्तान र सेरोफेरोका बालबालिकालाई सोही किसिमको व्यवहार सिकाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफ्नो विद्यालयमा मात्र नभएर नगरका सबै विद्यालयले विद्यार्थी, शिक्षक र साथीहरु बीच प्रयोग गर्ने सम्बोधनमा सुधार ल्याएर असल संस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
‘घरमा अभिभावकले त भन्ने, विद्यालयमा शिक्षकले त भन्ने, साथीले साथीलाई त भन्ने ? अनि हामीलाई संस्कार सिकेन भन्ने गुनासो छ,’ उहाँले भन्नुभयो, ‘यो सामान्य लाग्छ, तर व्यवहारिक रुपमा संस्कार सिकाउने सवालमा गम्भीर विषय हो, हामी सबैले तपाई, हजुर भन्ने अभ्यास गर्नुपर्छ ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र आर्चाय र विद्यालयका प्रधानाध्यापक याम बहादुर जिसीले शैक्षिक गुणस्तर, विद्यार्थी अनुशासन र अरु सरोकारवालाको भुमिकाका विषयमा मन्तव्य राख्नुभएको थियो । 


