अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा कात्तिक २४ गते विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ ।

कार्यक्रमका वक्ताहरूले जिल्लाका विकास निर्माणमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका उल्लेखनीय रहेको बताएका छन् ।
विकास निर्माणमा नागरिक समाज र सञ्चारकर्मीले खेलेको भूमिका पुर्ण भने नभएको उनीहरूको भनाई छ । ‘विकास निर्माणको काम रितपूर्वक भए की भएनन् ? यसमा नागरिक समाजले निरन्तर अवाज उठाइरहनुपर्छ ।’-अधिवक्ता एवम् नागरिक समाजका अगुवा स्थानेश्वर दवाडीले भने-‘सकरात्मक आवाज उठाउने काम नागरिक समाजले गर्नुपर्छ ।’
पछिल्लो समय विकासका भन्दा राजनितिक कुरा सञ्चार माध्यममा बढी आएको भन्दै विकासका कुरालाई पनि प्राथमिकतामा राख्नु पर्ने पत्रकार महासङ्घका उपाध्यक्ष दिपक जलनले बताए ।
‘विकास निर्माणमा भएका भद्रगोल देखेर पनि नदेखे जस्तो गरेर हिँडनु भएन ।’-महिला मानव अधिकार रक्षक सञ्जालकी सावित्री भट्टले भनिन् ।
पत्रकार र नागरिक समाज सुगम क्षेत्रमा मात्र केन्द्रित हुन नहुने पत्रकार महासङ्घकी उपाध्यक्ष अनुपमा खनालले बताइन् । गाउँ र टोलटोलमा नागरिक समाज सक्रिय हुनुपर्ने उनको धारणा थियो ।
‘जिल्लाका ११ ओटै स्थानीय तहमा नागरिक समाज र पत्रकार दुवै सक्रिय हुनुपर्छ ।’-पत्रकार किरण लोहनीले भने-‘झट्ट हेर्दा हामीले सुगम क्षेत्रमा मात्र उपस्थीति देखायौँ की ?’
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सिताराम तिवारीले प्रत्येक योजना र समुदायमा पत्रकार र नागरिक समाजको आवश्यकता रहेको बताए । आवाज उठाउने नियकाले सचेत गराए विकास निर्माणको काम फलदायी हुने पनि उनको भनाई छ ।
पत्रकार महासङ्घका अध्यक्ष किशोरजङ्ग थापाले सरकारी र गैरसरकारी संस्थालाई पुलको रूपमा जोड्ने काम नागरिक समाज र पत्रकार दुवैले गर्नुपर्ने बताए । ‘दिगो विकासका लागी हामी सक्रिय हुनुपर्छ ।’-उनले भने ।
हरिराम उप्रेती