अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ १६ गते ललितपुरमा पारस्परिक परियोजना अर्न्तर्गत नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका परियोजना प्रकुख श्रीराम बजगाइँले कार्यक्रमको उद्धेश्यका बारे प्रकाश पर्दै विकासका लागि नागरिक समाज र सञ्चारजगतले आ-आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निवार्ह गर्नुपर्ने बताए । हाल स्थानीय तहमा पुगेका हक अधिकारको कार्यान्वयन र विकास निर्माणका अवस्थाको अनुगमन नागरिक समाज र सञ्चारकर्मीले गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मानव अधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले नागरिकका आधारभूत अधिकारका लागि नागरिक समाज र सञ्चार क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । विकासका लागि पारस्परिक जबाफदेहिता आवश्यक रहेको उनले उल्लेख गर्दै स्थानीय स्तरको विकासका लागि स्थानीय तहका प्रतिनिधिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिए ।
शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका सवाललाई सञ्चारकर्मीले स्थानीयस्तरबाटै उठान गर्न सञ्जालका अध्यक्ष अधिकारीले आग्रह गरे ।

नेपाल पत्रकार महासङ्घ ललितपुरका सल्लाहकार बटुकृष्ण कार्कीले सञ्चारकर्मीहरूले राजनीतिक सवाललाई मात्र उठान गरिरहेको उल्लेख गर्दै अब समाजमा विद्यमान नागरिकका सवाललाई उठान गर्नुपर्नेमा जोड दिए । पत्रकारहरू स्थानीय तहसम्म पुग्न नसकेको उनको भनाई थियो ।
दलित गैर सरकारी संस्था महासङ्घकी पार्वती आग्तीलेे समाजमा जातीय छुवाछुतका घटना बढिरहेको हुँदा अब यसको न्यूनिकरणका लागि नागरिक समाज, अधिकारकर्मी तथा सञ्चारकर्मी सबै लाग्नु पर्ने बताइन् ।
गैरसरकारी संस्था माहासंघ ललितपुरकी सदस्य नन्दा ताम्राकारले नागरिक समाज र सञ्चारजगतबिचको सहकार्यले मात्र समाजको विकास सम्भव हुने बताइन् ।
केशबराज भट्ट