अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले प्रकाशन गर्दै आएको मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्क २०१७ का लागि सुनसरीमा सङ्कलित घटनाबारे मङ्सिर २८ गते सदरमुकाम इनरुवामा प्रकाशन पूर्व समीक्षा सम्पन्न गरेको छ ।

पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले बालिका बलात्कारका घटनामा बृद्धि भएको देखाएको छ । प्रतिवेदन अनुसार सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्ममा सुनसरीमा २३ जना बालिका बलात्कृत भए । आठ जनालाई यौन दुर्व्यवहार गरिएको इन्सेक जिल्ला प्रतिनिधि शेखर ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । गतवर्ष इन्सेकले प्रकाशन गरेको प्रतिवेदनमा बालिका बलात्कारको सङ्ख्या १८ थियो ।
जनवरीदेखि डिसेम्बरको यो अवधिमा सुनसरीमा १३ जना महिला बलात्कृत र ८ जनालाई बलात्कारको प्रयास भएको इन्सेक प्रतिनिधि ढकालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा हत्याका चार ओटा, कुटपिटको एउटा गरी बाल अधिकार उल्लङ्घनका ३२ ओटा, महिला अधिकार हनन्का २१ ओटा र मानव वेचविखन, ओसारपोसारका २ ओटा घटना गरी जम्मा ६० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटिएको छ । त्यसमा राज्य पक्षबाट सुनसरीमा एउटामात्र मानव अधिकार उल्लङ्घनको घटना अभिलेख गरिएको ढकालले बताए ।
कार्यक्रममा बलात्कारका घटना बढेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरे । उनीहरूले बलात्कारका घटना न्यूनीकरणका लागि सम्बन्धित निकायको ध्यन जानुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर नवराज न्यौपानेले राज्य मानव अधिकारप्रति सचेत भएकाले राज्यको तर्फबाट अधिकार हनन्का घटना कम भएको बताए । उनले मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि नेपाल प्रहरीलाई सुझाव दिनसमेत आग्रह गरे ।
इन्सेकले सङ्कलन गरेका घटनामा बलात्कार र महिला अधिकारका मात्र बढी समेटिएको, शिक्षा, स्वास्थ्य, खाद्य र रोजगारीका अधिकारका घटनासमेत समेटन वर्णमाला दैनिकका उपसम्पादक राजेन्द्र पोखरेलले सुझाव दिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सुनसरीका अधिकृत रुद्र राई, माइती नेपालकी सुनिता कार्की, नेकपा एमालेका प्रतिनिधि प्रदिप काफ्ले, स्थानीय शान्ति समिति सुनसरीका संयोजक सुर्यनारायण यादव, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिव प्रमोद यादवलगायतका वक्ताहरूले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरणमा सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताएका थिए ।
शेखर ढकाल