INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरणीय अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न

Photo 20250621 Dhanusha (6)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश र मिथिला नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहद्वारा असार ६ गते ढल्केवरमा वातावरणी अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन गरिएको छ ।

कार्यशाला गोष्ठीमा सहभागीहरुले मिथिला नगरपालिका–१, ढल्केबरका बासिन्दा दूषित पानी र प्रदूषित हावा सेवन गर्न बाध्य भएको बताउनु भएको छ । वातावरणीय अधिकारसम्बन्धी जनचेतना नहुँदा र सरकारी निकायको उदासिनताले जनस्वास्थ्यमा गम्भीर असर परिरहेको सहभागीहरूको भनाई थियो ।

स्थानीयवासीहरूले धारामा आउने पानी धमिलो, दुर्गन्धित र प्रयोग अयोग्य भएको गुनासो गर्नु भएको छ । पानी प्रशोधन संयन्त्रको अभाव र नियमित सरसफाइ नहुँदा यस्ता समस्या बढिरहेको सहभागीहरुले बताउनु भएको छ ।

Photo 20250621 Dhanusha (3)

श्री जनता माध्यमिक विद्यालय नक्टाझिजका प्रधानाध्यापक श्याम कुमार यादवले भने,–“वन क्षेत्रमा छाडा चौपाया छाड्दा खोलानाला प्रदूषित हुन्छन्, सोही पानी पिउन यहाँका बासिन्दा बाध्य छन् ।” वहाँले राज्य र स्थानीय तहको उपेक्षाले जनस्वास्थ्य संकटमा परेको बताउनु भयो ।

त्यस्तै, श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केबरका प्रधानाध्यापक रामकुमार महतोले विद्यालय नजिकै सञ्चालनमा आएको प्लास्टिक उद्योगबाट उत्सर्जन हुने प्रदूषित हावाले विद्यार्थी र स्थानीयवासीको स्वास्थ्यमा असर परेको बताउनु भयो । “बदलिँदो मौसम, बढ्दो तापक्रम र प्राकृतिक विपद्का घटना देखिँदै छन्, तर स्थानीय र प्रदेश सरकार मौन छन्,”–वहाँले गुनासो गर्नु भयो ।

कार्यशाला गोष्ठीमा सहभागीहरूले मिथिला नगरपालिकाले पाँच करोड रुपियाँभन्दा बढीको लागतमा खोला नालाको टेन्डर दिएको तर नदी उत्खनन गरी गिट्टी–बालुवा बिक्री गर्दा वातावरणीय सन्तुलनमा प्रतिकूल असर परिरहेको आरोप लगाउनु भएको छ । “बाढी, पहिरो र वन विनाशजस्ता समस्या बढ्दो छन्, तर स्थानीय निकाय स्वयं यस्तो कार्यमा संलग्न छ,”–मानव अधिकार समूहकी सदस्य कल्पना कडारीले बताउनु भयो ।

गोष्ठीको अध्यक्षता मिथिला नगरपालिका मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महतोले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य बुद्धनारायण सहनीले संविधान र अन्तर्राष्ट्रिय सन्धीहरूले नै स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको बताउँनु हुँदै राज्य गम्भीर नभए नागरिक समाज स्वयं सचेत हुनुपर्नेमा जोड दिनु भयो ।

मधेस प्रदेश सरकार मिडिया काउन्सिलका पूर्व अध्यक्ष तथा समाचार दैनिकका सम्पादक कैलास दासले वातावरण संरक्षणमा सरकार गम्भीर नभए नागरिक समाजले पहल गर्नुपर्ने बताउनु भयो । “स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सबैको हो । जबसम्म नागरिक समाज सशक्त हुँदैन, संवैधानिक व्यवस्था कार्यान्वयन हुँदैन,”–उहाँले भन्नु भयो ।

कार्यक्रममा इन्सेकका मधेश प्रदेश संयोजक राजु पासवानले वातावरणीय अधिकारसम्बन्धी सरकारको नीतिगत तथा कानूनी व्यवस्थाको बारेमा प्रस्तुतीकरण गर्नु हुँदै नागरिकको स्वच्छ वातावरणको अधिकारलाई प्रत्याभूत गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनु भयो । कार्यक्रममा सहभागीहरुबाट उठेका वातावरणीय सवाललाई प्रदेश र स्थानीय सरकारका सरोकारवाला निकायसम्म पुर्‍याएर उक्त समस्या समाधानका लागि पहल गर्ने वहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो।

Photo 20250621 Dhanusha (5)

अन्य

भिडियो