INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरणीय अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र डीसीएको सहयोगमा दुई दिने “प्रदेश स्तरीय वातावरण अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम” ०८२ असार १६ गते जनकपुरधाममा सम्पन्न भएको छ ।

इन्सेक प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले वातावरण र मानव अधिकार सम्बन्धमा प्रस्तुति गर्नु भएको छ ।

उहाँले वातावरणीय प्रदूषणले मानव जीवनमाथि प्रत्यक्ष असर पारिरहेको साथै वातावरण संरक्षणमा तत्काल ठोस पहल आवश्यक रहेको बताउनु भयो ।

Photo 2025-07-01 Dhausha (3)

सांसद यादवले जल, जमिन, वायु र ध्वनी प्रदूषणले मानव जातिमाथि गम्भीर खतरा उत्पन्न गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “यी चारवटै प्रदूषणका स्रोतलाई नियन्त्रण गरी संरक्षण र संवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता हो । त्यसका लागि सबै मानव जाति स्वयं अगाडि आउनुपर्छ ।”

सांसद यादवले प्रदूषणका कारण जमिनमुनिको पानीको सतह (लेयर) दिन प्रतिदिन घट्दै गएको, जसका कारण स्वच्छ पानी पाउन कठिन हुँदै गएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका प्रशिक्षक तथा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका सहसचिव बुधनारायण सहनीले वातावरण संरक्षणमा मानव अधिकार र मानव अधिकार रक्षकहरूको भूमिका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानून बारे जानकारी गराउँनु हुँदै नागरिकको वातावरणीय अधिकारलाई सरकारले प्राथमिकताका साथ लिनुपर्नेमा जोड दिनु भयो ।

Photo 2025-07-01 Dhausha (2)

त्यस्तै मिडिया काउन्सिलका पूर्व अध्यक्ष एवं राष्ट्रिय दलित पत्रकार संघ मधेश प्रदेशका अध्यक्ष कैलास दासले वातावरणीय अधिकार र मानव जीवनबीचको सम्बन्ध प्रष्ट पार्दै भन्नुभयो, “वातावरण संरक्षण गर्नु हाम्रो न्यायिक तथा मानव अधिकार हो । वातावरण स्वच्छ रह्यो भने मात्र मानव जीवन स्वस्थ रहन सक्छ ।”

उहाँले वातावरण संरक्षणमा वातावरणीय मानव अधिकारकर्मीको भूमिका बारे प्रस्तुति गर्दै भन्नुभयो–‘ मधेश प्रदेशमा वातावरणको अवस्थाबारेमा राज्य पक्ष गम्भीर नरहेको कारणले दैविक प्रकोप दिनहुँ बढ्दै गएको छ । वातावरण संरक्षणप्रति सचेत नभएमा ठूलो संकटको सामना गर्नुपर्ने छ ।’

Photo 2025-07-01 Dhausha (1)

“विश्वभर वायु प्रदूषणका कारण हरेक वर्ष ४२ लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा मात्रै वार्षिक ३ हजार ५ सय जनाको मृत्यु प्रदूषणका कारण हुने गरेको छ । अझै गम्भीर कुरा त के हो भने, हाल नेपालका जम्मा २५ प्रतिशत मात्र नागरिकले स्वच्छ खानेपानी पाएका छन्”–उहाँले भन्नु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले प्लास्टिक, पोलिथिनजन्य वस्तुले जमिन र जल प्रदूषण बढाएको भन्दै यसको असर मानिससँगै अन्य जीवजन्तुमाथि समेत पर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो,–“भूमि प्रदूषण नियन्त्रणका लागि युवापुस्ताले प्लास्टिकको सट्टा माटोका भाँडाहरूको प्रयोग गर्नुपर्छ । यसले संस्कृतिको संरक्षणसँगै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ ।”

मधेश प्रदेशका वातावरणीय मानव अधिकार रक्षक संगठित भएर वातावरणीय अधिकारलाई जोडतोडका साथ उठान गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनले चुरे दोहनले तराई–मधेसमा जल संकट उत्पन्न गराएको बताउनु भयो । उहाँले धनुषाधाम क्षेत्रको उदाहरण दिनु हुँदै वन विनाशका स्थानमा जडीबुटी र आर्थिक उपयोगिता भएका विरुवा रोपेर वातावरणीय सन्तुलनका साथ आर्थिक लाभ समेत लिन सकिने विचार राख्नु भयो ।

सम्पन्न दुई दिवसीय कार्यक्रममा मधेश प्रदेशका आठ वटै जिल्लाबाट मानव अधिकारकर्मी तथा वातावरण क्षेत्रमा काम गरिरहेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरूले वातावरणीय संकटका विविध पक्षबारे विचार राख्दै प्रभावकारी समाधानका उपायहरूप्रति जोड दिनु भएको थियो ।

अन्य

भिडियो