अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०१७ को जनवरीदेखि जुनसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा समग्र मानव अधिकारको विषयमा जेठ २४ गते तौलिहवामा समीक्षा गरेको छ ।

इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलन गरेको घटना तथा जिल्लाको मानव अधिकारको सवालमा सरोकारवाला निकायसँगको सहभागितामा समीक्षा गरेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले इन्सेकले हरेक वर्ष वर्षपुस्तक तयार गर्नु पुर्व गर्ने समीक्षाले सबै सरोकारवाला निकायको ध्यान आकृष्ट गरेको भन्दै समग्र मानव अधिकारमा सुधार ल्याउनमा समेत सहयोग पुगेको बताए ।
इन्सेकले निगरानी गरिरहेकोले सरकारी कार्यालयहरूमा सुधार आउन थालेको उनको भनाइ छ । इन्सेकको पहलमा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा समेत सहयोग पुगेको उल्लेख गर्दै प्रजिअ ढकालले सम्बन्धित कार्यालयहरूलाई कार्ययोजना कार्यान्वयनका लागी निर्देशन समेत दिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले जिल्ला समन्वय समितिले मानव अधिकारको कार्ययोजना अनुसार अल्पसङ्ख्यक, दलित, जनजाति, महिला तथा बालबालिकाहरूका लागि बजेट विनियोजित गरी कार्ययोजना लागु गरेको बताएका थिए । उनले इन्सेकबाट सधैँ साझेदारी र खबरदारीको अपेक्षा राखेको बताए ।
जिल्ला शिक्षा अधिकारी थानेश्वर ज्ञवालीले सरकारले भनेजस्तै निशुल्क शिक्षा दिन नसकिएको बताउँदै पछिलो समय शिक्षामा सुधार भएको बताए ।
महिला तथा बालबालिका कार्यालय प्रमुख कमला पौडेलले इन्सेकले सार्वजनिक गरेका मानव अधिकार उल्लङ्घन अन्तर्गत महिला अधिकारका घटना बृद्धि हुनुमा लुकेका घटना बाहिर आउन थालेपछि बढेको बताइन् ।
जिल्ला स्वास्थ्य कार्यालयका डा. अशोक विश्वकर्माले इन्सेककै खबरदारीले गर्दा स्वास्थ्यमा सुधार आएको बताउँदै अहिले डाक्टर, स्वास्थ्य कर्मचारी तथा औषधिहरू उपलब्ध भएको बताए ।
नन्दराम पौडेल