
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री शिव शाक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार समूहले ०८० माघ १९ गते बटेश्वर गाउँपालिका स्थित सोही विद्यालयको प्राङ्गगनमा वक्तृत्वकला प्रतियोगिता तथा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।
बाल अधिकार सचेतना समूहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको असमानता, बाल विवाह, दाईजो प्रथा, महिला विरुद्ध हुने हरेक किसिमका भेदभाव तथा हिंसाका गतिविधि र तिनले समाजमा पार्ने नकारात्मक प्रभावलाई जनचेतनामूलक सडक नाटकको माध्यमद्वारा प्रदर्शन गरेको संरक्षक शिक्षक लोक हरि खतिवडाले बताउनु भयो।
त्यस्तै, शिक्षा, स्वास्थ्य, महिला हिंसा, दाईजो प्रथा तथा भेदभाव बढिरहेकोले न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम ग्रामीण तहसम्म पुर्याउनु पर्ने बाल अधिकार चेतना समूह अध्यक्ष कृति कापरले बताउनु भयो।
जनचेतनामूलक नाटकका साथसाथै बालबालिकाहरुले गाउँपालिका स्तरीय “सामुदायिक विद्यालयको वर्तमान अवस्था, चुनौती र सम्भावना” शिर्षक वक्तृत्वकला प्रतियोगिताकाे समेत आयाेजना गरेकाे थियाे । जसमा चार ओटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
शिक्षा, स्वास्थ्य, जातीय विभेद तथा वातावरणीय क्षेत्रमा बटेश्वर गाउँपालिकाले आफ्ना कार्यक्रम र योजनालाई सशक्त रुपमा अगाडि बढाउने बटेश्वर गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी सिंहले बताउनु भयो । साथै बाल विवाह न्यूनीकरणका लागि पालिका भित्र भएको तथा हुन लागेको बाल विवाहको सूचना दिने व्यत्ति लाई पुस्कारकाे व्यवस्था गरिएको बताउनु हुँदै स्नातक पास गर्ने छात्रालाई २५ हजार रुपियाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँले इन्सेकको समेत साथ र सहयोगको आवश्यक्ता रहेको बताउनु भयो । उपाध्यक्ष फुलकुमारी सिंहका अनुसार मानव अधिकारको रक्षार्थ आफूहरू सचेत रहेको र जनतासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा पालिकाले प्राथमिकताका साथ कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ ।
प्रतियोगिताकाे निर्णायक समितिमा श्री शिव शक्ति माध्यमिक विद्यालयका शिक्षक राम दुलार महत्तो, श्री जनप्रिय माध्यमिक विद्यालयका शिक्षक कुशेश्वार महत्तो, श्री लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरका शिक्षक रामदयाल यादव, श्री जनशक्ति माध्यमिक विद्यालयका शिक्षक अशोक महत्तो रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा श्री शिव शक्ति माध्यमिक विद्यालयका चाँदनि कुमारी प्रथम, श्री शिव शक्ति माध्यमिक विद्यालयका सपना कुमारी दोस्रो र श्री जनशक्ति माध्यमिक विद्यालयका नेहा यादव तेस्रो भएका छन् ।
