INSEC Online

📅 २०८३ जेष्ठ २१

राहत वितरणमा बाढी पीडितको व्यापक गुनासो, स्थानीयवासीद्वारा छानबिनको माग

बाढी पीडितको राहत वितरण पारदर्शी नभएको आरोप लगाउँदै तत्काल छानबिन हुनु पर्ने राप्तीसोनारी गाउँपालिकाका बाढी पीडितले माग गरेका छन् ।

इन्सेक नेपालगञ्ज र भिजन टेलिभिजनद्वारा राप्तीसोनारी गाउँपालिकास्थित भवानीयापुरमा असोज ८ गते आयोजित बाढीपछि शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था विषयक टेलिभिजन सम्वाद कार्यक्रममा बाढी पीडित चन्द्रबहादुर गिरीले वास्तविक बाढी पीडितले राहत नपाएर गैर पीडितले राहत पाएको आरोप लगाए ।

Photo20170924banke (1)

यसैगरी राप्ती सोनारी गाउँपालिका-३ गडलावासकी सुनिता घर्तीले बाढीले अन्नपात सबै बगाएपनि आफूले हालसम्म कुनै राहत नपाएको दुखेसो पोखिन् । बाढीका कारण तीन बालबालिका गुमाएका लालपुरका कमीलाल थारूले सरकारले आश्वासन दिए अनुसार क्षति भएको घर हालसम्म नबनाइदिएको बताए ।

बाढीका कारण लालपुर गाउँका ३७ घर पूर्ण क्षति भएको बताउँदै उक्त गाँउका बाढी पीडित टेण्टमा बस्दै आएको लालपुरकी लक्ष्मी चौधरीले बताइन् । टेण्टमा बस्दा महिलाहरू जोखिममा रहेको बताउँदै बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन उनले सुझाव दिइन् । बाढी पीडितका लागि सुरक्षित आवास तथा एकमुष्ट रकम दिने व्यवस्था नेपाल सरकारले गर्नु पर्ने स्थानीयवासी सन्तोष चौधरीले बताए ।

Photo20170924banke (2)

बाढी पीडितका गुनासालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गैर पीडितले राहत बुझेको भए उजुरी दिए असुल उपर गरी कारबाही गर्ने प्रतिवद्धता जनाए । वास्तविक बाढी पीडितको लगत लिन छुट भएको रहेछ भने पुनर्विचार गर्ने प्रजिअ केसीले आश्वासन दिए ।

बाढी पीडितका समस्या समाधानका लागि विभिन्न नौ कलष्टर विभाजन गरी समस्या समाधानका लागि काम भइरहेको प्रजिअ केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङले टेण्टमा रहेका बाढी पीडितको सुरक्षालाई मध्यनजर गरी सुरक्षा गस्ती परिचालन गरिने आश्वासन दिए । प्रहरीले योजनावद्ध सुरक्षा योजना बनाएको जानकारी दिँदै सम्वेदनशील क्षेत्रको पहिचान गरी प्रहरी परिचालन गरिएको एसपी तामाङले जानकारी दिए ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बाढीपछि स्वास्थ्य, शिक्षा र खाद्यन्नमा धेरै समस्या देखा परेको बताउँदै बाढी नियन्त्रणको दीर्घकालीन योजनाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए । छुट भएका वास्तविक बाढी पीडितका नाम समावेशका लागि सम्बन्धित निकायमा पहल गरिरहेको अध्यक्ष थारूले आश्वासन दिए ।

जिल्ला शिक्षा कार्यालयका फोकल पर्सन खगेन्द्र मल्लले बाढी पीडित बालबालिकालाई पोशाक, पाठयपुस्तक र झोलासमेतको किट तत्काल वितरण गर्ने योजना रहेको बताए । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख चक्रबहादुर खड्काले बाढी पीडित गाउँमा तत्काल महामारी नफैलियोस भनी जिल्ला जनस्वास्थ्य कार्यालयले यस अघि विभिन्न निकायसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरेको बताउँदै महिला स्वास्थ्य स्वयम्सेविकामार्फत गाउँगाउँमा सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

स्थानीय तहमा बाढीपछि शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा देखा परेका समस्याका विषयमा स्थानीय तहबाटै समाधानका उपाय खोज्न सम्वाद कार्यक्रमको आयोजना गरिएको इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले बताए ।

इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज

अन्य

भिडियो