राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत यशोदा बन्जाडे र सहायक प्रथम माया गैरेले इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जानकी गाउँपालिका–३ मा निर्माण गरेको ‘मानव अधिकार सूचना तथा स्रोत केन्द्र’ भवनको ०८१ मङ्सिर ३० गते अनुगमन गरेका छन् ।

इन्सेकले मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि काम गरिरहेका व्यक्ति र संस्थाहरूलाई सहयोग र स्रोतहरू उपलब्ध गराउने उद्देश्यले मानव अधिकार सूचना तथा स्रोत केन्द्रको निर्माण गरिएको इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले अनुगमन टोलीलाई जानकारी गराउनु भयो । उहाँले मानव अधिकार सूचना तथा स्रोत केन्द्र मानव अधिकार रक्षकका लागि अनलाइन प्लेटफर्मका साथै अनुसन्धान गर्न, प्रशिक्षण सामग्री प्राप्त गर्न, केस स्टडी र अन्य सान्दर्भिक जानकारीहरू प्राप्त गर्न उपयोगी हुने उल्लेख गर्नुभयो । संयोजक महतले मानव अधिकार स्रोत केन्द्र मानव अधिकार उल्लङ्घनबाट पीडित व्यक्ति र समुदायहरूलाई कानुनी सल्लाह, परामर्शका लागि महत्त्वपूर्ण स्थान हुने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले लामो समयदेखि लुम्बिनी प्रदेशका द्वन्द्वकालीन घटनाको अभिलेख राखेको र सोको विषयमा आफूहरू जानकारी लिन आएको राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत यशोदा बन्जाडेले बताउनु भयो । इन्सेकले राखेको अभिलेखबाट तत्कालीन परिस्थितिलाई बुझ्न सहज हुने भएकोले आफूहरू आएको उहाँको भनाइ छ ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका सहायक प्रथम माया गैरेले २०६२ सालदेखि सङ्क्रमणकालीन न्यायको विषय तथा द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न विभिन्न चरणमा छलफल गर्दै, बिस्तृत शान्ति सम्झौता अनुसार सङ्क्रमणकालीन न्यायलाई प्राथमिकतामा राखेर काम गर्न दबाब दिएको भए पनि राज्यले कानुन अनुसारको जिम्मेवारी पुरा गर्न नसकेको बताउनु भयो ।
अनुगमनका टोलीले मानव अधिकार सूचना तथा स्रोत केन्द्रको अनुगमन गरी इन्सेकले अभिलेख गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको बारेमा जानकारी समेत लिएका थिए ।
