
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा बटेश्वर गाउँपालिकाको शिवशक्ति नमुना माध्यमिक विद्यालय, मिथला नगरपालिका, नक्टाझिजकाको जनता माध्यमिक विद्यालय र बाल अधिकार सचेतना समूहले भदौ २९ गते आयोजना गरेका थिए । सो अवसरमा विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच अन्तर्क्रिया कार्यक्रमको भएको थियो ।
श्री शिवशक्ति नमुना माध्यमिक विद्यालय बटेश्वरको व्यवस्थापन समितिका अध्यक्ष बिन्दी लाल महतोले “जब बालक जन्मन्छ तब ऊ आफ्नो अधिकारमा रमाउन चाहन्छ, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, अनुकूल वातावरण आदि उसका नैसर्गिक अधिकारहरू हुन्” भन्नु भयो । साथै “बालबालिकाहरू भविष्यका कर्णधार भएकोले उनीहरूको सर्वाङ्गिण विकास बिना देश विकासको परिकल्पना गर्नु निरर्थक रहेको उहाँले भन्नु भयो ।
त्यसैगरी, श्री शिवशक्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभाष कुमार कर्णले “बालदिवसलाई औपचारिकता मात्रै हैन उनीहरूलाई भित्रैबाट बुझ्नु जरुर छ, भोका र नाङ्गा कैयौं छन्, बेलैमा औषधि उपचार नपाएर संसार छोडेका कैंयौं छन्, एक पटक ती बालबालिका मेरा छोराछोरी हुन् भनेर सोचौ, बल्ल सही नीति नियम बन्ने छन् र बालबालिकाका लागि छुट्याइएका बजेटको दुरुपयोग हुने छैन” भन्नु भयो ।
सोही विद्यालयमा अध्ययनरत कक्षा नौ की शर्मिला कुमारी महतोले “सम्पूर्ण अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई नेपाली भाषा, संकृति तथा मुल्यमान्यता सिकाउन विद्यालय पठाउनुपर्छ” भन्नु भयो ।
कर्यक्रममा श्री जानता माध्यमिक विद्यालय नक्टाझिजका प्रधानध्यापक महेन्द्र महतोले “बाल अधिकार संरक्षण तथा सम्बर्द्धनका लागि नीति नियम तथा ऐन कानुन, कार्यविधिहरू निर्माण भएतापनि कार्यान्वयनकोे तहमा कहाँनिर कमीकमजोरीहरू रहेका छन् राज्य, नागरिक समाज तथा संघ संगठन सबैले समीक्षा गर्न जरुरी छ” उहाँले भन्नु भयो । सोही अवसरमा बालविवाहमुक्त समाज निर्माणकालागि हस्ताक्षर संकलन पनि गरिएको थियो ।
