राज्यले कृषि कार्यालय तथा पशुसेवा विकास कार्यालयमार्फत दिने सेवा र सुविधाबाट बुद्धभूमि नगरपालिकाका कृषक वञ्चित भएका छन् ।
कृषि कार्यालयले कृषकका लागि दिने विभिन्न सेवा सुविधा तथा कार्यक्रमहरू यस बुद्धभूमि नगरपालिकाले केन्द्रले पठाएको बजेट विकास निमार्णमा खर्च गरेपछि कृषि र पशु सेवा विकासका सबै कार्यक्रम प्रभावित भएका हुन् ।
पहिलो नगर सभाले थप अनुदान प्राप्त भएमा कृषि तथा पशु सेवा कार्यालयलाई दिने भनी मनत्रालयबाट आएको एकमुष्ट रकम अन्य शीर्षकमा विनियोजन गरेकाले कृषि र पशु सेवा कार्यलयको बजेट शुन्य भएको थियो ।
इन्सेक र मानव अधिकार निगरानी समूहले माघ ११ गते सार्वजनिक सुनुवाई कार्यक्रम राखेकामा कृषकहरूले कृषि र पशु सेवा कार्यालयबाट सेवा सुविधा नपाएको भन्दै विरोध गरेका थिए ।
नगर प्रमुखले दोश्रो नगरसभाबाट केही बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाएका थिए । सोही अनुरुप ०७४ फागुन २७ गते बसेको नगरसभाले दुवै कार्यालयलाई २५ लाख ५० हजार रुपियाँका दरले रकम व्यावस्थापन गर्ने भनेको भएपनि चैत १४ गतेसम्म कुनै जानकारी नआएको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद चौधरीले बताएका छन् । पाँच जना कर्मचारी रहेको कृषि शाखामा कर्मचारी काम नपाएर दिनभर गफ गरेर दिन बिताउनु परेको उनको भनाइ छ ।
कतै कर्मचारी अभाव भएर काम गर्न समस्या भइरहेको छ भने बजेट नहुँदा बुद्धभूमि नगरपालिकाका कृषि, पशु, महिला तथा बालबालिका शाखाका कर्मचारी कामविहीन बनेका छन् । सरकारले कृषकका लागि दिने कुनै पनि सेवा सुविधा नपाएको बुद्धभूमि नपा-४ गेलवारकी चिन्की भरले गुनासो गरिन् ।
यस्तै पशु सेवा कार्यालयमा पशुको उपचारका लागि औषधि माग्दा नपाएको वडा नं ४ की अम्बिका खनालको गुनासो छ । मानव अधिकार निगरानी समूह बुड्डीका संयोजक र इन्सेक सहजकर्ता चैत १४ गते कृषि तथा पशु सेवा कार्यालयमा अनुगमनको क्रममा पुग्दा कृषकहरूलाई निशुल्क दिने कुनै पनि औषधि, मल, बिउ नरहेको कार्यालय प्रमुखहरूले बताएका थिए ।
नन्दराम पौडेल