INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारका घटना अझै बाहिर आउन सकेका छैनन्: सरोकारवाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि जिल्लामा सङ्कलित घटनाहरूको पुस ७ गते सरोकारवाला निकायबीच सम्पन्न वार्षिक समीक्षा कार्यक्रमका सहभागीले यौन दुर्व्यवहारका घटना अझै बाहिर आउन नसकेको बताएका छन् ।

सहभागिहरुले गत वर्षको तुलनामा यस वर्ष बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनामा कमी नआएको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् । उनीहरूले यस्ता घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम ग्रामीण क्षेत्र केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

‘बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनाको विश्लेषण गर्दा केही घटना घर भित्रैका छन्, नजिकका नाता पर्ने, कुनै छरछिमेकी र चिनजानका व्यक्तिबाटै महिलाहरू यौन हिंसामा परेका छन् ।’– जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर कमाल नरालले भन्नुभयो ।

घरेलु हिंसाका उजुरी स्थानीय तहका न्यायिक समितिमा पनि दर्ता हुने भएकाले जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेलमा कम उजुरी प्राप्त भएको उहाँले बताउनु भयो । सबै सङ्घसंस्था मिलेर हिंसाजन्य घटना रोक्न चेतनामूलक कार्यक्रम गरे केही न्यूनीकरणमा सहयोग पुग्ने उहाँले बताउनु भयो ।

यौन दुर्व्यवहारका घटना अझै बाहिर आउन नसकेको अधिवक्ता स्थानेश्वर दवाडीले बताउनु भयो । ‘यस वर्ष बलात्कार र बलात्कार प्रयासका घटना अझै बढेको देखिन्छ, ग्रामिण भेगका अझै केही घटना गुपचुप होलान्,’ उहाँले भन्नुभयो, ‘लुकेका घटना बाहिर ल्याउन र घटना न्यूनीकरणका लागि जनचेतना मुलक कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता देखियो ।’

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता गिरफ्तारको घटना बढेको पत्रकार महासङ्घ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले बताउनु भयो । ‘गोरखाकै अवस्था हेर्दा बन्दुक, बम भेटिएका पनि छैनन्, समर्थन गर्नु विचारको अभिव्यक्ति स्वतन्त्रता हो, यसैको भरमा गिरफ्तार गर्नु सान्दर्भिक देखिएन,’–उहाँले भन्नुभयो । २०६३ पहिलेको जस्तो प्रतिवेदन २०७६ पछि पनि सार्वजनिक भएको उहाँले बताउनु भयो । ‘पुरानै अवस्था देखियो, समात्ने–छाड्ने दुखदिने काम भएको छ,’– उहाँले भन्नुभयो ।

स्थानीय तहका न्यायिक समितिमा दर्ता भएका घरेलु हिंसाका घटना पनि वर्ष पुस्तकमा समेट्नुपर्ने अधिकारकर्मी ऋषि खनालले बताउनु भयो । वर्ष पुस्तक दुब्लाउनुपर्नेमा घटनाहरु हेर्दा मोटाउने सम्भावना बढेको पत्रकार भिमलाल श्रेष्ठले बताउनु भयो । मानव अधिकारको दृष्टिकोणले वर्ष पुस्तकको अभिलेखीकरण सान्दर्भिक रहेको उहाँले बताउनु भयो । अधिकारकर्मी विभाजित हुन नहुने उहाँको भनाइ थियो ।

हिरासतमा रहेका प्रतिवन्धित नेकपाका कार्यकर्तालाई परिवारसँग भेट्न समेत नदिएको भन्दै मानव अधिकार सञ्जाल गोरखाका संयोजक यदु अधिकारीले चिन्ता व्यक्त गर्नु भयो ।

यस वर्ष नागरिक तथा राजनीतिक अधिकार अन्तर्गत राज्य पक्षबाट गिरफतर (सरकारद्वारा प्रतिबन्धित नेकपा) १० घटना, अन्य पक्षबाट शिक्षकमाथि दुर्व्यवहारका दुई घटना, बालिका माथि बलात्कार र यौन दुर्व्यवहारका ११ घटना, महिला माथि भएका बलात्कार र बलात्कार प्रयासका नौ घटना, बहुविवाहका १३, हत्याका तीन, बाल मजदुर उद्धारको एक गरी जम्मा ४९ घटना अभिलेख भएका छन् ।

photo20191224Gorkha1 (1)

photo20191224Gorkha1 (2)

photo20191224Gorkha1 (3)

photo20191224Gorkha1 (4)

अन्य

भिडियो