INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङमा १ सय ३५ घटनामा १ सय ७१ जना पीडित

मोरङमा मानव अधिकार वर्ष पुस्तकका लागि समेटिएका घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रम कात्तिक ३० गते विराटनगरमा सम्पन्न भएको छ ।

विराटनगरमा सरोकारवालाहरूबीच नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सन् २०१८ को १ जनवरीदेखि हालसम्म समेटिएका घटनाहरूको पूर्व समीक्षा गरिएको हो ।

सो अवधिमा मोरङमा १ सय ३५ ओटा घटना अभिलेख गरिएकोमा १ सय ७१ जना पीडित भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधि ईन्दिरा भट्टराईले बताइन् ।

जसमा सबैभन्दा बढी बलात्कारका घटना ५५ ओटा, बलात्कार प्रयासका २७ ओटा, घरेलु हिंसाका सात ओटा, बहुविवाहका १० ओटा र हत्याका ११ ओटा रहेका छन३ ।

त्यसैगरी कुटपिटका सात, मानव बेचबिखनका दुई, हत्या प्रयासका चार र बालविवाहको एउटा घटना अभिलेख भएको छ । बम विष्फोटका तीन ओटा घटनामा एक जना घाइते भएका छन् ।

बलात्कारका ५५ घटनामा ४३ जना बालिका र १३ जना महिला, त्यसैगरी यौन दुर्व्यवहारका घटनामा ११ जना बालिका र बलात्कार प्रयासका घटनामा १६ जना महिला रहेका छन् ।

यस्तै अपहरणका दुई ओटा घटनामा एक बालिकासहित सात जना पीडित भएका छन् । एक जना बालक अप्राकृतिक मैथुनबाट पीडित हुन पुगेका छन३ । यसैगरी एक जना बालिका बाल विवाहको घटनामा पीडित भएकी छन् ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले बलात्कारका घटना बढ्नुको कारण पत्ता लगाएर त्यसको न्यूनीकरणमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बलात्कारका घटनाको सङ्ख्या हेर्दा लज्जाबोध भएको भन्दै बलात्कार गर्नेलाई कडा कानुन आवश्यक रहेकोमा जोड दिए ।

पोखरेलले बलात्कारका घटना जोगाउन लाग्नेलाई समेत कडा कानुन बनाएर कारवाही गर्नुपर्ने बताए । बाल विवाह देश भित्र भन्दा भारतमा लगेर गर्ने क्रम बढेको भन्दै सचेतना बढाउनुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, कार्यालय विराटनगर प्रमुख मोहन जोशीले महिलामाथि हुने अपराध घटना बढ्नुको कारण पत्ता लगाएर कानुन बनाउन जरूरी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले अन्य अपराधको दाँजोमा महिलाविरूद्ध हुने दुर्व्यवहार बढेको बताइन् । उनले पहिलेको तुलनामा अहिले महिलाहरू आफू विरूद्ध हुने घटनाको उजुरी लिएर आउने गरेको बताइन् ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले इन्सेकले विगत २७ वर्षदेखि मानव अधिकार उलङ्घन र ज्यादतीका घटना समेटेर वर्ष पुस्तक प्रकाशन गर्नु सरहानीय भएको बताए । उनले इन्सेकको वर्ष पुस्तक मानव अधिकार क्षेत्रको सम्पति रहेको बताए ।

इन्सेक प्रदेश १ कार्यालयका संयोजक सोमराज थापाले पीडितलाई न्याय दिने र पीडकलाई कारवाही गर्न र हाम्रो समाज कता जाँदैछ भनेर चित्रण गर्न वर्ष पुस्तकले मद्दत गर्ने बताए ।

ईन्दिरा भट्टराई

अन्य

भिडियो