नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि समेटिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
विराटनगरमा असार ७ गते सरोकारवालाहरू बिच मानव अधिकार वर्ष पुस्तकका लागि १ जनवरी २०१७ देखि जुनसम्म समेटिएका घटनाहरूको पुर्व समीक्षा गरिएको हो ।

सो अवधिमा मोरङका ७१ ओटा घटनामा ७५ जना पीडित भएको अभिलेख राखिएको इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी दिइन् ।
अभिलेखित घटनामा बलात्कारका ३२ ओटा, बलात्कार प्रयासका आठ ओटा, घरेलु हिंसाका १८ ओटा बहुविवाहका पाँच ओटा, हत्याका चार ओटा, कुटपिटका दुई ओटा, अमानविय कार्य र मानव बेचबिखन १/१ ओटा छन् ।

समीक्षा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक झङ्कर रावलले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक र प्रतिवेदनलाई आयोगले महत्वपुर्ण दस्तावेजको रूपमा लिने गरेको बताए ।
आयोगले बालिका बलात्कारका घटना धेरै हुनुको कारणबारे अनुसन्धान गर्ने तयारी गरेकोले यो अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रमले त्यसमा मद्धत मिल्ने रावलले बताए ।
गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य त्रिलोक न्यौपानेले विभिन्न घटनामा धेरै जसो महिला पीडित हुने गरेको भन्दै चेतना स्तर बढाउने कार्यक्रम गर्न जरूरी रहेको बताए ।
नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष कुमोद अधिकारीले बालिका बलात्कारका घटना सङ्ख्याले सबै सारोकारवालाहरूलाई चुनौती थपिएकोले यसको न्यूनीकरणका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्न र हाम्रो समाज कता जाँदैछ भनेर चित्रण गर्न वर्ष पुस्तकले मद्धत गर्ने बताए ।
इन्दिरा भट्टराई