वीरेन्द्रनगर नगरपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मानव बेचविखन तथा बाल बसाइँसराइ विरुद्धको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक र सोसेक नेपालको आयोजनामा ०८१ पुस ९ गते सञ्चालन गरिएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले मानव बेचविखन र बाल बसाइँसराइ न्यूनीकरण गर्न विद्यालय तहदेखि नै छलफल र बहसको आवश्यकता रहेको बताउनु भयो । उहाँले विद्यालयका विद्यार्थीलाई यस विषयमा संवेदनशील बनाउँदै उनीहरूलाई सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरूको निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
‘बालबालिकामा सानैदेखि सचेतना फैलाउन सकेमा मानव बेचबिखन र बसाइँसराइ रोक्न सकिन्छ’ – उहाँले भन्नुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य मिरा पन्तले बालबालिकाको सुरक्षाका लागि विद्यालय, अभिभावक र समुदायको साझा प्रयास आवश्यक रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विनोद कार्कीले मानव बेचविखनको कानुनी पक्षबारे जानकारी गराउँदै सजगता अपनाउन आग्रह गर्नुभयो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशकुमार न्यौपानेले विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रमले बालबालिकालाई सही मार्गदर्शन प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कक्षा ८, ९, र १० का ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरूले प्रश्नोत्तरका माध्यमबाट मानव बेचबिखन र बसाइँसराइबारे विस्तृत जानकारी हासिल गरेका थिए । कार्यक्रमले बालबालिका र समुदायलाई सचेत बनाउन महत्वपूर्ण योगदान दिएको सोसेक नेपालकी सामाजिक परिचालक कमला चन्दले बताउनु भयो । त्यस्तै इन्सेकका जिल्ला प्रतिनिधि जगतदल जनाला विकले हरेक वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले वर्ष पुस्तकमा सार्वजनिक गर्दै आएको बताउँदै गत वर्ष बाल अधिकार हनन्का १८ र यस वर्ष ४२ ओटा घटना घटेको जानकारी दिनुभयो ।

