वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाको मानव अधिकार संरक्षण तथा सुदृढीकरणका लागि इन्सेकसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा मङ्सिर ११ गते वीरेन्द्रनगरमा सम्पन्न नागरिक समाजः पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत् ‘मानव अधिकार संरक्षण सम्बद्र्धनमा परियोजना परिचयात्मक तथा मानव अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै ढकालले सो प्रतिबद्धता जनाउनु भएको हो ।
वीरेन्द्रनगर नगरपालिकामा सुशासन कायम गर्न, शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार स्थापित गर्न र मानव अधिकारको प्रत्याभूति दिलाउन इन्सेकलगायतका अन्य नागरिक सङ्घसंस्थाहरूसँग सहकार्य र समन्वय गर्न नगरपालिका तयार रहेको ढकालले बताउनुभयो ।
स्थानीय तहको सरकार सिक्दै र जनउत्तरदायी बन्नेतर्फ उन्मुख रहेको चर्चा गर्दै जनप्रतिनिधिहरूलाई रचनात्मक सुझावका साथ सहकार्य गर्न नागरिक सङ्घसंस्थाहरूलाई ढकालले आग्रह गर्नुभयो ।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले कानुन निर्माणको तयारीमा रहेको स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले जनताको आधारभुत आवश्यकता र मानव अधिकारको प्रत्याभूति हुने खालका ऐन कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
परियोजनाको उद्देश्य माथि प्रकाश पार्दै इन्सेकका मानव अधिकार अधिकृत टिकाप्रसाद अवस्थीले परियोजनाको कार्यक्षेत्र र अवधि, रूपरेखा, लक्षित समूह, सान्दर्भिकता र औचित्य, अपेक्षित प्रतिफल, सञ्चालन विधि, मानव अधिकार सुदृढीकरण कार्यक्रमको लक्ष्य तथा उद्देश्य, योजना गरिएको क्रियाकलाप, सञ्जाल निर्माण, क्षमता विकास, आवश्यकता पहिचान र हिंसा निगरानी समूहको गठन गर्ने प्रतिवेदन प्रस्तुत गर्नुभयो ।


