अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८२ असार १० गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक पदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्षमा आएको निवेदनमा छलफल गरी वास्तविक पीडितलाई कानुनी प्रक्रियामा जानका लागि आवश्यक प्रक्रिया तथा कागजात पुरा गरी आउने पीडितलाई आर्थिक सहयोग गर्दै आइरहेको भएता पनि वास्तविक पीडत अझै पनि बाहिर आउन नसकेको बताउनु भयो ।
गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा मानव अधिकार सहायता कक्षका संयोजक देवीप्रसाद खनालले मानव अधिकार सहायता कक्ष मार्फत पाँच महिनाको अवधीमा १२ जना आर्थिक अभावमा परेका लैङ्गिक तथा यौन हिंसा घटनाका पीडितलाई न्यायिक प्रक्रियामा सहयोग गरिीएको र दुई जनालाई सहयोग गर्ने प्रक्रियामा रहेको बताउनु भयो ।

दलित महिला अधिकार मञ्चकी कार्याक्रम संयोजक सृजना पराजुलीले भजनी नगरपालिकामा बौद्धिक अपाङ्गता भएकी महिलालाई दिनहु बलात्कार हुदै गरेको घटना बाहिर आउन नसकेकाले त्यस्ता घटनाको अनुगमन गरी पीडितको उद्धार गर्नु पर्ने बताउनु भयो ।
मानव अधिकारका लागि महिला एकल महिला समूहकी संयोजक वेद अवस्थीले समुदायस्तरमा घरेलु र यौन हिंसा पीडित महिलाकोहरुको आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाहरुको पठनपाठन समेत प्रभावित हुँदैआएको बताउनु भयो ।