अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ कात्तिक २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्ष सचिवालयको बैठकले एक जना हिंसा पीडितहरूलाई कानुनी प्रकियामा जानका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले आर्थिक सहयोगका लागि आएका दुई ओटा घरेलु हिंसासम्बन्धी निवेदनहरूमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ घर भइ हाल सिजा गाउँपालिका-१ माइती घरमा बस्दै आउनुभएकी २६ वर्षीया विमला दमाइलाई कानुनी प्रक्रियामा जान १० हजार रुपियाँ सहयोग गर्ने र अर्का निवेदक वीरेन्द्रनगर नगरपालिका-१२ का विष्णु प्रसाद दाहालको हकमा हाललाई उहाँको निवेदन प्रक्रियामा रहेको संयोजक नारायण सुवेदीले बताउनु भयो ।
उहाँका अनुसार घरेलु हिंसा पीडित र आर्थिक समस्याकै कारण कानुनी उपचारमा जान नसकेकालाई मानव अधिकार सहायता कक्षले विगतदेखि नै सहयोग गर्दै आएको बताउनु भयो । उहाँले पीडितलाई यातायात, फोटोकपी र अदालतमा लान्ने शुल्क र खाजा खर्च बापत् आर्थिक सहयोग गर्दै आएको बताउनु भयो । पीडितले विभिन्न समयमा आर्थिक सहायताका लागि इन्सेकमा निवेदन दिएका थिए ।
