अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ चैत १६ गते जनकपुरधाममा सम्पन्न भएको छ ।
इन्सेक प्रदेश कार्यालयको बैठक कक्षमा सम्पन्न सहायता कक्षको बैठकमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले आर्थिक अवस्था कमजोर तथा विपन्न समुदायका पीडितहरूलाई कानुनी प्रक्रियामा जानका लागि एवं न्यायमा पहुँच सुनिश्चित गर्न यातायात र उपचार खर्चमा सो रकम सहयोग पुग्ने उदेश्यका साथ सहायता कक्षबाट १० हजार रुपियाँ सहयोग गर्दै आएको बताउनु भयो । जनवरी देखि मार्च तीन महिनाको अवधिमा ६ जना पीडितले निवेदन दिएको भन्दै प्राथमिकताका आभारमा तीन जनालाई सहायता रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

सहायता कक्षमा संयोजक राजकुमार महासेठले पीडितको नाममा बिचौलियाका कारण पीडित झन पीडामा परेको बताउनु भयो । सहायता रकम उपलब्ध गर्नु अघि पीडितको तथ्य संकलनमा पनि सबैले विशेष सर्तकता अपनाउन जरुरी रहेको बताउनु भयो । यसका लागि घटना अभिलेखीकरण पहिलो दस्ताबेज रहेको भन्दै पीडितको पहिचानका लागि तथ्यपरक अभिलेखिकरणमा सबैले ध्यान दिन आवश्यक भएकोमा जोड दिनु भयो।
एम्नेष्टि इन्टरनेशनलकी जमुना भुजेलले असहाय गरीब तथा विपन्न महिला बालबालिको निम्ति इन्सेकको आर्थिक सहायता रकमले राहत पुग्ने गरेको भन्दै पीडितको सहायता कक्षसम्म पहुँचका लागि सबै मानव अधिकारकर्मिले सहयोगी बन्नु पर्नैमा जोड दिनु भयो ।
त्यस्तै कायापलटका संस्थापक दिवाकर उप्रेतीले मानव अधिकार रक्षकहरुलाई यसमा समेटेर संख्या बिस्तार गर्नु पर्ने भन्नुभयो । साथै परस्पर सहकार्य तथा समन्वय राख्न आग्रह गर्नुभयो ।
राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष श्याम साहले बालिकाहरु आफ्नै घर तथा आफन्तबाट असुरक्षित रहेको औल्याउँदै जो कोही पनि कानुनी दायराबाट उम्कन पाउनु हुँदैन् भन्नुभयो । तसर्थ पीडित महिला, बालबालिकाको संरक्षण पाटो गम्भीर भएको बताउनु भयो ।
बैठकमा राष्ट्रिय महिला अधिकार आयोग, एड्भोकेसी फोरम नेपाल, निलहिरा समाज, थर्डएलान्स, कायापलट, आफन्त नेपाल, शान्ति पुनर्थापना गृह, मुक्ति नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल लगायता संघ संस्थाका प्रतिनिधिले आआफ्नो धारण ब्यक्त गर्नु भएको थियो ।