INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ मङ्सिर २ गते जनकपुरधाममा सम्पन्न भएको छ ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले आर्थिक अवस्था कमजोर तथा विपन्न समुदायका पीडितहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्न यातायात र उपचार खर्च लगायत व्यवस्थापनमा लाग्ने रकम सहायता कक्षबाट सहयोग गर्दै आएको बताउनु भयो ।

 उहाँले भन्नुभयो– “स्थानीय तह, सुरक्षा निकाय, मानव अधिकारकर्मी, संघ संस्था र एकद्वार संकट व्यवस्थापन केन्द्र लगायतका निकायबाट प्राप्त सिफारिसका आधारमा हामीले घटनाको स्थलगत अनुगमन गरी प्रति पीडित १० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइरहेका छौँ ।”
साथै हिंसा प्रभावितहरुलाई न्याय दिलाउनका लागि सुरक्षा निकायदेखि न्यायालयसम्म समन्वय गर्दै आएको इन्सेक मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।

मानव अधिकार सहायता कक्षका संयोजक तथा अधिवक्ता राजकुमार महासेठले मधेस प्रदेशमा हिंसासम्बन्धी घटनाको सङ्ख्या प्रतिदिन बढ्दो क्रममा रहेको बताउनु भयो । विगतको तुलनामा यो वर्ष पीडितको सङ्ख्या उल्लेख्य रूपमा बढेको र सबै भन्दा धेरै हिंसाका घटनाबाट दलित तथा सीमान्तकृत समुदायका व्यक्तिहरू प्रभावित भएका छन्, अहिलेसम्म सहायता पाएका धेरैजसो पीडित न्याय पाउने चरणसम्म पुगेका छन्, जुन सकारात्मक संकेत भएको हो महासेठले भन्नुभयो ।

आर्थिक रूपमा कमजोर तथा न्यायमा पहुँच नपाएका २१ जना पीडित तथा पीडित परिवारलाई मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग प्रदान गर्दै न्याय प्राप्तिको प्रक्रियामा सक्रिय पहल गरेको जनाएको छ ।

इन्सेकद्वारा गठन गरिएको मानव अधिकार सहायता कक्षको मङ्सिर २ गते सम्पन्न त्रैमासिक समीक्षा बैठकमा पीडितहरूलाई गरिएको सहयोग तथा समग्र गतिविधि बारे समीक्षा गरिएको छ ।

बैठकले आगामी योजना, रणनीति तथा कार्यान्वयनका विषयमा पनि विस्तृत छलफल गरेको आयोजकले जनाएको छ ।

मधेश प्रदेश कार्यालय

अन्य

भिडियो