अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ फागुन २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
मानव अधिकार सहायता कक्षमा प्राप्त भएका चार ओटा पीडितको निवेदनहरू स्वीकृत गर्ने निर्णय गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१३, नौलो टोलकी ३६ वर्षीया तिर्सना परियारलाई सात हजार रुपियाँ, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ काल्चेकी सुस्मिता थापा, देलेख डुङ्गेश्व गाउँपालिका–१ की अमृताकुमारी विश्वकर्मा र दैलेख भगवतिमाई गाउँपालिका–७, वडाभैरवकी गगनसरा विकलाई प्रतिव्यक्ति आठ–आठ हजार रुपियाँका दरले सहयोग गर्ने निर्णय गरिएको हो ।
घरेलु हिंसा पीडित र आर्थिक समस्याकै कारण कानुनी उपचारमा जान नसकेका पीडितलाई मानव अधिकार सहायता कक्षले विगतदेखि नै सहयोग गर्दै आएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनु भयो । उहाँले पीडितलाई यातायात, फोटोकपी र अदालतमा लान्ने शुल्क र खाजा खर्च बापत् आर्थिक सहयोग गर्दै आएको बताउनु भयो । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला बार सुर्खेत लगायतका संघ संस्थाबाट प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।