अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
“हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएको इन्सेककी सहजकर्ता रञ्जना अधिकारीले बताउनुभयो ।

विद्यार्थीहरूले सामाजिक न्याय र लैङ्गिक हिंसा विरुद्धका नारा लेखिएको प्लेकार्डहरू बोकेर सरस्वती माध्यमिक विद्यालयबाट इटहरा बजार, वडा नम्बर ९ कार्यालय हुँदै प्रहरी चौकी परिक्रमा गरी भौडाहा बजारमा जागरण नृत्य प्रस्तुत गरे । समानताका लागि जागरण र्याली पुनः इटहरा बजार आएर विद्यार्थीहरूले चेतनामूलक सडक नाटक प्रदर्शन गरे । साप्ताहिक हाट भर्न आउनेहरूले सडक नाटक हेरेर नाटकको विषयवस्तु र विद्यार्थीको अभिनयकलाको प्रशंसा गर्दै उत्प्रेरित गरे । नाटक प्रदर्शनपछि र्याली पुनः विद्यालय पुगेर कार्यक्रम समापन भयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्न सरकारले गरेको परिपत्र अनुसार विद्यार्थीहरूले भव्य रुपमा सचेतना कार्यक्रम गरेकोमा प्रधानाध्यापक कञ्चनमाला बर्माले प्रसन्नता व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसंघद्वारा घोषित यो अभियान हरेक बर्ष राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूमा सञ्चालन भइरहेको जानकारी गराउनु हुँदै उहाँले नेपालले यसलाई दिएको महत्व प्रशंसनीय रहेको बताउनुभयो ।
नेपालमा लैङ्गिक हिंसा समाज, घरपरिवार, कार्यस्थललगायत अनेकौं ठाउँमा हुने गरेको भन्नुहुँदै प्रधानाध्यापक वर्माले यो अभियानले हिंसा पहिचान गर्न र त्यसको निराकरणको लागि चेतनामूलक बाटो देखाउने उल्लेख गर्नुभयो । आफ्ना विद्यार्थीहरूले प्रदर्शन गरेको सडक नाटकले महिला हिंसा, जाँडरक्सीको कुलत र दाइजो जस्ता कुप्रथालगायतका विरुद्दमा सचेतना प्रवाह गरेको प्रधानाध्यापक बर्माले बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होम अधिकारीले लैङ्गिक हिंसा र यसका विविध स्वरुपका विषयमा प्रकाश पार्नुभयो । जुनसुकै आधारमा हुने लैङ्गिक हिंसा अपराधजन्य कर्म भएको भन्दै यस सम्वन्धी विद्यमान कानूनी व्यवस्थाको बारेमा उहाँले जानकारी गराउनुभयो । सभ्य र सुसंस्कृत समाज निर्माणका लागि १६ दिने अभियानले महत्वपूर्ण सन्देश प्रवाह गर्ने उहाँको भनाई थियो । लैङ्गिक समानताका लागि आ-आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न पनि इन्स्पेक्टर अधिकारीले आग्रह गर्नुभयो ।

रर्यालीमा विद्यार्थीहरुलाई शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक-अभिभावक संघका पदाधिकारी, सामाजिक अभियन्ता, मानव अधिकार समूहका पदाधिकारी, सुरक्षाकर्मी लगायत स्थानीयले साथ दिए भने सडक किनारमा उभिएर स्थानियवासीले ताली बजाएर र्यालीको स्वागत गरे ।
बालअधिकार चेतना समुहको नेतृत्वमा प्रस्तुत गरिएको ‘अँध्यारोबाट उज्यालोतिर’ नामक नाटकमा स्नेहा दाहाल, कृष्मा पौडेल, निता कटुवाल, केवल प्रधान, दिया थापा, बर्षा नेपाली, सुष्मा निरौला, राधा यादवलगायतले अभिनय गर्नुभयो । महिला शिक्षक बुलबुला त्रितालको लेखन तथा निर्देशनमा भएको सडक नाटकमा महिला शिक्षकद्वय त्रिताल र कल्पना भट्टराईको समेत अभिनय रहेको थियो ।

