INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहसँग छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज २० गते राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।

राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष धनी वलीको अध्यक्षतामा बसेको बैठकले विगत ६ महिनामा मानव अधिकार समूहका पदाधिकारीहरूबाट गरिएको कार्यहरूको समीक्षा गर्दै कार्य योजना तयार गरेको छ ।

Photo06102024Banke

समूहको छलफलमा बैठकले स्थानीय तहमा वातावरण र मानव अधिकारको प्रत्यभूतिका लागि सहकार्य गर्न समन्वय बैठक बस्ने, फोहोरजन्य पदार्थ व्यवस्थापन गर्न र जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना मूलक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । वातावरणले पारेको असर र त्यसको न्यूनीकरणको लागि स्थानीय सरकारमा ध्यानाकर्षण गर्ने, वडा तहमा वातावरण सम्बन्धी बजेट छुट्याउन सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने र मानव अधिकार समूहका सदस्यहरूले आ-आफ्ना टोल र समुदायमा मानव अधिकार उल्लङ्घन र वातावरणीय प्रदुषण न्यूनीकरण गर्नका लागि अझै प्रभावकारी रूपमा आवाज उठाउँदै जाने निर्णय गरेको छ ।

समूहका अध्यक्ष वलीले वनमा आगो लागेका कारण समाजमा निकै प्रभाव पारेको बताउनु भयो । उहाँले वन विनाशका कारणले जङ्गलका जनावरहरू समाजमा छिर्ने र मानिसलाई आक्रमण गर्ने गरेको उल्लेख गर्नुभयो । सबै नागरिकलाई वातावरणको महत्त्व बुझाई सचेनाका जगाउनु मानव अधिकार समूहको उद्देश्य रहेको उहाँको भनाइ छ ।

मानव अधिकार समूहका ‍सचिव प्रेम चौधरीले राप्ती सोनारी गाउँपालिकामा प्लाष्टिक जन्य वस्तु निकै प्रयोग भएको र यसको न्यूनीकरणमा सरकारवाला निकायको ध्यान नगएको बताउनु भयो ।

Photo06102024Banke3

मानव अधिकार समूहका ‍सह-संयोजक डम्बर बहादुर डाँगीले हरेक सामूदायिक ठाउँमा आफूहरूले वृक्षरोपण गरिरहेको बताउनु भयो । उहाँले सबै नागरिकहरूलाई समेत यसको महत्त्व बुझाई सचेत गराएको उल्लेख गर्नुभयो । यसरी वृक्षरोपण गर्दा पानीको सतह समेत बढेको अनुभव उहाँको सुनाउनु भयो ।

मानव अधिकार समूहका ‍सदस्य तीला गिरीले वातावरण संरक्षणमा आफूहरूले वडा कार्यालय र गाउँपालिकामा समेत आग्रह गरेको बताउनु भयो । उहाँले बाटोमा छोडिएका जनावरलाई समेत व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मानव अधिकार समूहका ‍सदस्य पार्वती नेपालीले वातावरण संरक्षणमा आफ्नो घरदेखि नै फोहोरको व्यवस्थापन र सरसफाइमा ध्यान दिन सके सबै नागरिकमा राम्रो उदाहरण हुने बताउनु भयो । उहाँले वडा कार्यलयलाई समेत फोहोर व्यवस्थापनको लागि पहल गरेको उल्लेख गर्नुभयो ।

मानव अधिकार समूहका अध्यक्ष गौरी खत्रीले बजारका पसलहरूले समय अवधि नागेको खाद्य वस्तु बिक्री वितरण गरेको थाहा पाएपछि आफूहरूले यसको अनुगमन गरेको बताउनु भयो । हरेक नागरिकलाई सरसफाइमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । राप्ती सोनारी गाउँपालिकाका टोल टोलमा वातावरण सम्बन्धी कार्यक्रम गर्न उहाँले आग्रह गर्नुभयो ।

Photo06102024Banke4

इन्सेक संरक्षण परियोजनाका अधिकृत टेकनाथ आचार्यले अभिमुखीकरण गर्दै विद्यमान वातावरण र जलवायु परिवर्तनले समुदायमा पारेको समस्या समाधानका लागि बैठकमा भएको सहमति, निर्णय, तय गरिएका कार्य योजनाहरू र असल अभ्यासहरूलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।

Photo06102024Banke2

मानव अधिकार समूहको क्षमता अभिवृद्धी र स्थानीय तहमा प्रभावकारी परिचालनको लागि मानव अधिकार समूहसँग छलफल गरिएको अधिकृत आचार्यले जानकारी दिनुभयो । उहाँले वातावरण संरक्षण प्रत्येक घरघरबाट सुरु गर्नुपर्ने र वातावरण संरक्षण ‘मेरो दायित्व हो’ भनेर नागरिकहरूले आत्मसाथ गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

Photo06102024Banke1  Photo06102024Banke5

Photo06102024Banke6

Photo06102024Banke8

अन्य

भिडियो