अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समूहले गाउँपालिकालाई ०८२ असार २५ गते ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । मानव अधिकार समूहले गाउँपालिकामा कार्यक्रम गरिरहँदा वडामा लक्षित वर्ग छुटेको र ओझेलमै परेको अतिविपन्न, दलित, महिला, बालबालिका, अपाङ्ग, अल्पसख्यक तथा पछाडि पारिएका समूहको सहभागिताको अनुगमन गर्न, शिक्षामा सहयोग गर्न र जनताको निगरानी बढाउन उनीहरुलाई सशक्त बनाउनु आवश्यक ठानेको भन्दै गाउँपालिकाले मानव अधिकार समूहसँग समन्वय गर्नेगरी आवश्यक कार्यक्रमको व्यवस्थापनका लागि गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
समस्या पहिचान र समाधानका लागि पहल तथा जिम्मेवार निकायको ध्यानाकर्षण गरी उत्तरदायी बनाउने उद्देश्यले मानव अधिकार समूहले योजना बनाइ मानव अधिकार संरक्षण, संवर्धन र प्रवर्धन सम्बन्धी कार्यक्रम प्रस्तावना जेठ १४ गते कार्यालयमा बुझाएको स्मरण गराउँदै उक्त प्रस्तावनामा मानव अधिकार समूहले बराहताल गाउँपालिकामा दुई वटा मावि तहका विद्यालयका बाल अधिकार समुह गठन र बराहताल गाउँपालिकाको १० वटै वडालाई समेट्ने गरेर पालिकामा मानव अधिकार समूह गठन गरी वडा र विद्यालय तहमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र विभेद विरुद्धको महिला, बालबालिका, सिमान्तकृत समुदायको सवालमा सेवा र पहुँचका लागि आवाज उठाइ पालिकामा मानव अधिकारको संरक्षण, प्रर्वद्धन गर्नको लागि समूह मार्फत काम गर्ने पत्रमा उल्लेख गरिएको छ । पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनले समूहका लागि आवश्यक कार्यक्रमको पहल गरिने बताउनु भयो । ध्यानाकर्षण पत्र हस्तान्त्रण कार्यक्रममा मानव अधिकार समूह संयोजक छविलाल शर्मा, सदस्यहरु इमा बस्नेत, रत्नलाल सुवेदी, तिलक शर्मा, गोमा बिक, रैमा सुनार, ख्यामु पौडेल, सुमित्रा सिजाली, लक्ष्मण पौडेल लगायतको सहभागिता रहेको थियो ।
