INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको ज्ञापनपत्रपछि गाउँपालिकाद्वारा बजार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने”इएलपी परियोजना अन्तरगत कोशी गाउँपालिकामा गठित मानव अधिकार समूहको ज्ञापनपत्रपछि गाउँपालिका असार १७ गते बजार अनुगमन गरेको छ ।

इन्सेकद्वारा गठित मानव अधिकार समूहले ०७७ मङ्सिर ८ गते गाउँपालिकामा नेपालको संविधान २०७२, द्धारा धारा ३६ मा व्यवस्था गरिएको खाद्यसम्बन्धी हक अन्तरगत बजार अनुगमन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

मानव अधिकार समूहले गाउँपालिकामा बुझाएको ज्ञापनपत्र बमोजिम होटल तथा पसलहरूको अनुगमन गरेको गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवले बताउनु भयो । उहाँले अनुगमनका क्रममा होटल र किराना पसलसगैँ चलाएको, होटलहरूमा भान्सासहित सफा नराखिएको, बासीखानाहरू बेचविखनका लागि राखिएको र अखाद्यवस्तुको मिसावट गरी खाद्यवस्तु तयार गरिएको अनुगमनका क्रममा फेला परेको उपाध्यक्ष यादवले बताउनु भयो । उहाँले त्यस किसिमका क्रियाकलाप खाद्य अधिकारले वर्जित गरेकाले त्यसको सुधारका लागि एक महिनाको समयसिमा दिएको बताउनु भयो ।

कोशी गाउँपालिका–८ को भाण्टावारी र कोशी व्यारेज क्षेत्रका ३० ओटा पसलमा अनुगमन गर्दा अखाद्यवस्तुका बेचविखन भएको र सरसफाईमा ध्यान नदिएको पाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बताउनु भयो । उहाँले पसल तथा होटल सञ्चालकलाई सुधारका लागि केही समय दिएको र त्यसपछि सुधार नभए कानुन बमोजिम कारबाही अघि बढाउने बताउनु भयो ।

कोशी गाउँपालिका–८ का वडाध्यक्ष विन्देश्वर मण्डलले मानव अधिकार समूहले मानव अधिकारसँग जोडिएका विषयमा गाउँपालिका र वडाहरूको ध्यानाकर्षण गराएकाले मानव अधिकारका सवाललाई सम्बोधन गर्न सघाऊ पुगेको बताउनु भयो ।

गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा अनुगमन, छलफल तथा समस्या पहिचान गरी सोही अनुसार ज्ञापनपत्र बुझाएको र मानव अधिकार समूहले उठाएका समस्याहरू सम्बोधन हुने गरेको मानव अधिकार समूह कोशी गाउँपालिका अध्यक्ष अनिता उरावँको भनाइ छ ।

Photo 20210701 Sunsari (1) Photo 20210701 Sunsari (2) Photo 20210701 Sunsari (3)

अन्य

भिडियो